RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/५ गते
१०४० पटक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन्। सोमबार विहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले ओलीसँग सहमति गरेर मात्रै अगाडी बढ्न सक्ने निष्कर्ष निकालेका हुन्।

ओलीसँग पटक-पटक ‘वान टु वान’ वार्ता गर्दा पनि कुनै सहमति हुन नसकेपछि प्रचण्डले सोमबार विहान आफु निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर शीर्ष तहमा भएको छलफल र प्रगतीबारे बिफ्रिङ गरेका थिए। प्रचण्डले कुनै एउटा पद छाड्नका लागि आफुसहितका शीर्ष नेताहरुसँग पटक-पटक आग्रह गर्दा पनि तयणर नभएकाले अब ओलीले नै विवाद समाधान खोज्नुपर्ने जोड दिए बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। ओलीलाई विधिसम्मत हटाउने प्रकक्रिया अघि बढाउँदा पार्टीमा विभाजन आउने र दुर्घटना निम्त्याउने खतरा देखिएकाले आम कार्यकर्ताको भावना अनुकुल पार्टी एकतालाई बचाउनका लागि आफुहरु लचिलो हुन बाध्य भएको प्रचण्डले बैठकमा बताएका थिए। नेकपाको ४४ सदस्य रहेको स्थायी कमिटीमा रहेका पूर्वमाओवादीका १५ जना बैठकमा सहभागी थिए।

बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृका यादवबाहेक सबै स्थायी समिति सदस्यले ओली–प्रचण्ड मिल्न सुझाव दिएका थिए। त्यस्तै अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी एकता बचाउनुपर्नेमा जोड दिएका थिए। ‘पार्टी एकता बचाउन नसकिए हाम्रो एजेण्डा अलपत्र हुन्छ’ उनले अन्नपूर्ण अनलाइनसँग भने ‘पार्टी मात्रै नयाँ भयो। हामी पूरानै तरीकाले चल्यौं।’

‘हामीले पहल गरिरहेका छौं। हाम्रो पहलले मात्र पुगेन। अब प्रधानमन्त्रीलाई नै पहल लिनुस् भनेका छौं। अब कसरी समस्याको समाधान गर्ने र समाधान दिनुस् भन्नुपर्छ। त्यसका लागि हामीले ओलीलाई सहयोग गर्नुपर्छ। प्रधानमन्त्री र एक नम्बरको अध्यक्ष ओली भएकाले ओलीले नै पहल लिनुपर्यो। हामीले कोसिस त गर्यौ तर समाधान भएन’ प्रचण्डको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले अन्‍नपूर्ण अनलाइनसँग भने।

साउन ३ गतेको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने र सबै कुरा त्यही टुंगो लगाउने प्रस्ताव ओलीले राखेपछि मोटामोटी त्यसमै समझदारी भएको थियो।

शीर्ष तहमा चर्किएको कलहको टुंगो लाग्न नसक्दा स्थायी कमिटीको बैठक ८ पटकसम्म स्थगित भएको छ। यसबीचमा ओली र प्रचण्ड तथा अन्य शीर्ष नेताहरुबीच बालुवाटारमा हरेक दिन जसो बैठक बसे पनि कुरा मिल्न सकेको छैन्।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक पार्टीको आन्तरिक विवादका कारण निरन्तर स्थगित हुँदै र सर्दै आएको छ। हरेक दिनजसो बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भए पनि अहिलेसम्म कुरा मिलेको छैन। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतले ओलीको राजीनामा माग्दै आएका छन् भने ओलीले कुनै पनि पदबाट अहिले राजीनामा दिने अवस्था नरहेको बताउँदै आएका छन्।

पछिल्लो पटक एउटा कुनै पदबाट राजीनामा दिन आग्रह गर्दा पनि ओलीले इन्कार गरेका छन्। ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन्।

प्रधानमन्‍त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र होटल एवं दूतावासमा चलखेल भइरहेको भनी दिएको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्केको हो। स्थायी कमिटीको असार १६ गतेको  बैठकमा अध्यक्ष  ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्‍त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्‍त्रीबाट राजीनामा मागेपछि आन्तरिक कहलले झन् गम्भीर रुप लिएको हो। पार्टीभित्र चर्केको आन्तरिक कलहबीच नै प्रधानमन्‍त्री  ओलीले असार १८ गते आकस्किक रुपमा संसद अधिवेशन अन्त्य गरेपछि अवस्था थप जटिल भएको हो।

यसबीचमा शीर्ष तहमा पटकपटक वार्ता र छलफल भए पनि अहिलेसम्म विवाद समाधान उपाय निस्किन सकेको छैन। त्यसैगरी दोस्रो पुस्तका नेताहरु र युवा नेताहरु पनि पार्टी विवाद मिलाउन क्रियाशिल देखिएका छन् तर सहमति बन्‍न सकेको छैन।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्