RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/६ गते
९५० पटक

भरतपुर, साउन ६ गते । भारी वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले नाररायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा मङ्गलबार पनि यातायातका साथन सञ्चालन गर्न नसकिने भएको छ ।
डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख डिभिजन इन्जिनियर कृष्णप्रसाद अधिकारीले अहिले पनि राजमार्गमा दुई सयभन्दा बढी ठूलो साना पहिरो खसिरहेकाले राजमार्ग सफा गर्न समय लाग्ने बताउनुभयो ।

“वर्षासँगै पहिरो झर्ने क्रम जारी रहेकाले सडकमा झरेको पहिरो सफा गर्न समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “नारायणगढ-मुग्लिन सडकमा त मङ्गलबार रातिसम्म यातायात सञ्चालनमा ल्याउन सकिन्छ कि भनी काम गरिरहेका छाैँ । पृथ्वी राजमार्ग त आज (मङ्गलबार) पनि सञ्चालन गर्न सकिदैन ।”

पृथ्वी राजमार्गमा पाँच ठाउँमा ठूलो पहिरो खसेको पनि उहाँले जनाउनुभयो । धादिङ र चितवनको सीमाक्षेत्रमा रहेको पोवा खोलामा त सडक नै पहिरोले बगाएको छ भने पुलमा पनि क्षति पुगेको छ । पुलसँगै रहेको एप्रोज सडकको करिब १२ मिटर सडक बाढीले बगाउँदा पुलमा क्षति भएको हो । अहिले त्यस स्थानमा सडक अवरुद्ध भएको इन्जिनियर शिव खनालले बताउनुभयो ।

यस्तै, पृथ्वी राजमार्गकै धादिङ महादेवबेँसीमा चार मिटर चौडाइमा ३० मिटर सडक त्रिशुली नदीतर्फ भासिएको छ । यो ठाउँमा पनि अहिले दुई मिटर मात्रै सडक रहेकाले यातायात सञ्चालन गर्न सकिने अवस्था नभएको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो । यसका अलावा पृथ्वी राजमार्गको जोगीमारा, फुर्के खोला, विशालटार, जवान खोला, पौवा खोला, चुम्लिङ्टारलगायत क्षेत्रमा ठूलो पहिरो छ । अन्य धेरै ठाउँमा अहिले पनि पहिरो झरिरहेको छ ।
यस्तै, नारायणगढ-मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा पनि सडक भासिएको छ । नाै मिटर चौडाईमध्ये पाँच मिटर सडक त्रिशुलीमा भासिएपछि यहाँ चार मिटर मात्रै सडक बाँकी छ । यहाँ एकोहोरो सडक सञ्चालन गर्न सकिने अवस्था भएको बताइन्छ ।

यस्तै, नारायणगढ-मुग्लिन सडककै नारायणगढ-मुग्लिन सडकको चार किलो र चोर खोलामा अहिले पनि पहिरो खस्ने क्रम जारी छ । दुवै राजमार्गमा पहिरो खस्ने क्रम जारी रहेकाले सो राजमार्गको विकल्प खोज्न सर्वसाधारण यात्रुहरूलाई आग्रह गरिएको छ ।

वर्षा जारी रहेकाले पहिरो पन्छाउन नसक्दा आज पनि राजमार्ग खुला गर्न नसकिने भएकाले वैकल्पिक सडक प्रयोगमा ल्याउन चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आग्रह गर्नुभयो । “पानी लगातार परिरहेकाले पहिरो पन्छाउन गाह्राे भएको छ” उहाँले भन्नुभयो । तराईका जिल्लाहरूबाट काठमाडाैँ जानुपर्ने यात्रुले वैकल्पिक रुपमा हेटौँडाबाट जाने विभिन्न सडकहरू प्रयोग गर्न सकिने बताइन्छ ।

जोखिममा रहेका गाडीको उद्धार

सोमबार एक्कासि खसेकाे पहिरोले गर्दा पृथ्वी राजमार्गमा पहिरोको जोखिममा रहेका झण्डै दुई सय सवारी साधनलाई सुरक्षित ठाउँमा सारिएका छन् । डिभिजन प्रमुख अधिकारीका अनुसार पृथ्वी राजमार्गका विभिन्न पहिरो जोखिममा रहेका सवारी साधनहरूलाई सुरक्षा सर्तकता अपनाएर सुरक्षित ठाउँमा सारिएको हो ।
“पहिरोको बढी नै जोखिममा रहेका दुई सयभन्दा बढी सवारी साधनलाई हामीले सुरक्षित ठाउँमा लगेका छौँ । अब सडकमा सवारीसाधनहरू असुरक्षित रहने छैनन्”, उहाँले भन्नुभयो ।

नारायणी नदी सतह बढ्दो

नारायणी नदीको सतह पनि लगातार बढ्दैगएको छ । जल तथा भौसम विभागले केही बेरअघि सुचना जारी गर्दै नारायणी नदीमा खतराको तहभन्दा दुई मिटर माथि नदीको सतह बढेको जनाएको छ ।

“खतराको तहभन्दा दुई मिटर तह पानी माथि उक्लिएको छ । नारायणी नदी तटीय क्षेत्रमा रहने चितवन र नवलपरासीका बासिन्दाहरू वढी चनाखो हुनुहोला”, सूचनामा उल्लेख छ । नारायणी नदी मापन केन्द्र, देवघाटमामाआठ मिटरभन्दा बढी पानीको सतहलाई खतराको सतहमा राखिन्छ । खतराको सतहभन्दा दुई मिटर माथि भनेको १० मिटर पानीको सतह हो ।

यस्तै, त्रिशुली नदीको कटानका कारण इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का विष्णुकुमार श्रेष्ठ र कुमार श्रेष्ठको घर भासिएर नदीले बगाएको छ भने दिलकुमार श्रेष्ठ, रमेश कार्की, राजु भण्डारी, मानबहादुर विक र कुमार विकको घर पनि जोखिममा छन् । यो घटनामा मानवीय क्षति नभएको र सबैलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुर्य थापाले बताउनुभयो ।

यस्तै, नारायणी नदीमा आएको बाढीका कारण पश्चिम चितवनमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ झनझनेमा १६ घर, भरतपुर २६ सिशौनीमा २४ घर, भगडीमा ३० घर डुबानमा परेका छन् ।

नदीमा बेपत्ता

राप्ती नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । खैरहानी नगर पालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय राजु बाेटेलाई माछा मार्ने क्रममा नदीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार उहाँको खोजीकार्य जारी रहेको छ ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्