RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३ गते
८३९ पटक

दुबईमा मजदुरको काम गर्दै आएका सचिराम रोक्काले नेपाल फर्कन तीन महिनाअघि नेपाल एयरलाइन्सको टिकट काटेका थिए । युएईको अबुधाबीस्थित एडमार्क कम्पनीमा काम गर्ने उनले नेपाल एयरलाइन्सबाट मंगलबार बिहान ३ः५५ बजे स्वदेश फर्कने टिकट खरिद गरेका थिए । सोहीअनुसार उनी दुई दिनअघि नै दुबई एयरपोर्ट आए । अबुधाबीबाट दुबई आइपुग्ने साढे २ घन्टा लाग्ने भए पनि स्वदेश फर्कने उमंगमा उनी दुई दिनअघि नै एयरपोर्ट पुगेको बताउँछन् । दुबई आएर उनले स्वास्थ्य परीक्षण पनि गराइसकेका थिए । मंगलबार उडान तालिकाअनुसार सोमबार साँझ ५ बजे उनी साथीहरूसहित विमानस्थल पुगे । तर, सोमबार राति ११ बजेसम्म पनि विमानबारे केही जानकारी आएन । एक्कासि राति १ बजे उडान रद्द भएको उनीहरूले जानकारी भए । जब कि नेपाल एयरलाइन्सको जहाज सोमबार राति १२ बजे दुबई पुगेर मंगलबार बिहान ३ बजे रित्तै फर्कियो । नेपाल फर्कने आसमा रहेका मजदुरहरूलाई विमानस्थलमा छोडेर जहाज फर्किएपछि उनीहरू अहिलेसम्म विमानस्थलमै छन् । ‘बस्ने ठाउँ छोडेर आइसकेँ, अब फर्कने ठाउँ छैन । बाहिर निस्कन पैसा पनि छैन,’ फोनमार्फत रोक्काले भने ।

दुबईको एडमार्क कम्पनीमा काम गर्ने कञ्चनपुरका लक्ष्मण चौधरी विगत आठ महिनादेखि बेरोजगार छन् । तर, लेबर कोर्टले कम्पनीबाट खानपानका लागि केही रकम दिलाइदिएको उनले बताए । सो रकमले खान र न्यूनतम खर्च गर्न पुग्ने उनको भनाइ छ । सोही कारण नेपाल फर्कन उनले घरबाटै ८० हजार मगाएका थिए । सोही रकमबाट उनले नेपाल एयरलाइन्सको टिकट खरिद गरे । मंगलबारको उडान तालिकाअनुसार अन्य आठ नेपाली श्रमिकसहित उनी पनि दुबई विमानस्थल पुगेका थिए । तर, अन्तिम समयमा उडान रद्द भएपछि उनी पनि विमानस्थलमा नै अलपत्र छन् । उनी भन्छन्, ‘विमानस्थलभित्र अब धेरै समय बस्न पाइँदैन होला । सडकमा नै बस्नुपर्छ । हेरौँ सक्ने वेलासम्म बाँचौँला, नत्र मरण यतै होला जस्तो छ ।’

रोक्का र चौधरीजस्तै मंगलबार बिहानको उडान (उडान नं. आरए २२९२) बाट नेपाल फर्कन दुबई विमानस्थल पुगेका २३६ नेपाली श्रमिक अहिले अलपत्र परेका छन् । नेपाल फर्कने आसमा सबै सामान र कोठा छोडेर विमानस्थल पुगेका श्रमिकहरूको अब फर्कने ठाउँ पनि छैन । कतिपय श्रमिक लामो दूरी तय गरी दुबई विमानस्थल पुगेका छन् । अहिले आफूसँग खाने पैसासमेत नभएको उनीहरू बताउँछन् । निगमलाई दुबईको विमानस्थलमा आइसकेका यात्रु ल्याउन रोकेको सरकारले टर्किस एयरलाइन्समा युरोपका विभिन्न देशबाट आएका नेपाली यात्रुलाई भने आउन अनुमति दिएको छ । टर्किस एयरलाइन्स दुई सय एक यात्रु लिएर मंगलबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्