RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१३ गते
६३१ पटक

कोभिड–१९ बाट संक्रमितको मृत्युदर विश्व र एसियाको तुलनामा नेपालमा कम छ । त्यति मात्र होइन, छिमेकी भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशभन्दा नेपालमा मृत्युदर कम छ ।

विश्वभर दुई करोड ४७ लाख ९७ हजारजना संक्रमित हुँदा एक करोड ७२ लाख निको भएका छन् । निको वा मृत्यु भएर विश्वमा एक करोड ८० लाख ‘केस क्लोज्ड’ भएका छन् । योमध्ये ४.६५ प्रतिशतको मृत्यु भएको छ ।

एसियामा ६७ लाख ८३ हजार संक्रमित भएकोमा एक लाख ३८ हजारको मृत्यु भएको छ । निको भएका वा मृत्यु भएकालाई जोडेर ‘क्लोज’ भएका केसमध्ये एसियामा मृत्युदर २.४८ प्रतिशत छ ।

दक्षिण एसियामा सबैभन्दा बढी मृत्युदर अफगानिस्तानमा छ । त्यहाँ ३८ हजार संक्रमितमध्ये २९ हजार निको हुँदा १४ सय अर्थात् ४.६ प्रतिशतको मृत्यु भएको छ । एसियामा पहिलो र विश्वमा तेस्रो भारतमा संक्रमितको संख्या ३४ लाख ६१ हजार पुगेको छ । भारतमा अहिलेसम्म ६२ हजार ७१३ अर्थात् २.३१ प्रतिशतको मृत्यु भएको छ । पाकिस्तानमा मृत्युदर २.१९ प्रतिशत र बंगलादेशमा २.०७ प्रतिशत छ । दक्षिण एसियामा पाँचौँ नम्बरमा छ । नेपालमा २० हजार ४३७ ‘केस क्लोज्ड’ हुँदा मृत्युदर ०.९५ प्रतिशत छ ।

दक्षिण एसियामा नेपालभन्दा माल्दिभ्स, श्रीलंका र भुटानको स्थिति सन्तोषजनक छ । माल्दिभ्समा मृत्युदर ०.५७ प्रतिशत र श्रीलंकामा ०.४२ प्रतिशत छ । भुटानमा अहिलेसम्म एक सय ८४ जना संक्रमित भए पनि एकजनाको पनि मृत्यु भएको अभिलेख छैन ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ हजार चार सय ५६ पुगेको छ । तीमध्ये आधाभन्दा धेरै कामकाजी उमेर समूहका युवा छन् । २१ देखि ४० वर्ष उमेरसमूहका युवाधेरै संक्रमित भए पनि संक्रमणपछिको मृत्युदर भने ८० वर्षभन्दा बढीका ज्येष्ठ नागरिकको बढी छ ।

अहिलेसम्म संक्रमितमध्ये ८० वर्षमाथिका एक सय आठ जना छन्  । उनीहरूमध्ये ११ जना अर्थात १० प्रतिशतको मृत्यु भएको छ । त्यस्तै ६० देखि ८० वर्षसम्मका एक हजार तीन ६५ जना संक्रमित भएका छन् । यो उमेरसमूहका संक्रमिमध्ये ६६ जना अर्थात ५ प्रतिशतको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्