RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१३ गते
८०४ पटक

कोरोना भाइरस रोकथामका लागि जुम्लालगायत देशका अधिकांश स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपछि यसको मारमा जुम्लाका स्याउ व्यापारी पनि परेका छन्।

यो जुम्ली स्याउ किसानले आफ्ना उत्पादन बेच्ने याम हो । पहिलेका वर्षमा त किसानले उत्पादन गरेका जुम्लाको मीठो स्याउ खरिद गर्न यतिबेला किसानका बगैँचामै स्थानीय तथा जिल्ला बाहिरबाट व्यापारीको घुइँचो लाग्ने गर्दथ्यो।

तर अहिले स्याउ खरिद गर्न यहाँका बगैँचामा स्थानीय तथा बाहिरका कुनै व्यापारी पनि आउन पाएका छैनन्।

निषेधाज्ञाले स्याउ व्यापारी बगैँचामा नपुगेको तिला गाउँपालिका–२ का स्याउ किसान कालीबहादुर रोकायाले बताए। ‘यस याममा जुम्लाको स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ र देशका अन्य विभिन्न शहरदेखि यहाँका स्थानीय बजारसम्म पुग्दथ्यो । यहाँका स्थानीय बजारमा पनि सानादेखि ठूला पसलसम्म जुम्ली स्याउले भरिभराउ हुन्थ्यो’, उनले भने।

कोभिड– १९ को सङ्क्रमणले गर्दा स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा भएकाले स्याउ कसरी कहाँ बिक्री गर्ने भन्ने समस्या भएको चन्दननाथ नगरपालिका–४ का स्याउ किसान शोभा कार्कीले गुनासो गरिन्।

कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिकटन स्याउ फल्ने पूर्वानुमान गरिएकामा त्यति उत्पादन नहुने देखिएको छ।

उनले अहिले यस जिल्लामा पाँच हजार १०० मेट्रिकटन मात्र स्याउ फल्ने अनुमान गरिएको जानकारी दिए। यसपाली स्याउको फल कम लागेका कारण किसानलाई घाटा हुने भएकामा भएका स्याउ लिन पनि व्यापारी नआएपछि किसान दोहोरो मर्कामा परेका प्रमुख भण्डारीले बताए।

ल्लिाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले बताए। उनले भने, ‘असिनाका कारणसमेत केही प्रभाव पार्‍यो, केही स्थानमा एक वर्ष फल्ने र अर्कोवर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।’

जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुन्छ । परिस्थिति सहज नै भएको भए अब स्याउ किसानका बगैँचामा आएर किसानले खरिदको पक्का गर्ने बेला हो ।रासस

प्रतिकृया दिनुहोस्