RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२५ गते
६२३ पटक

काठमाडौँ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्शसहित जनजीवनलाई सहजीकरण गर्दै नयाँ आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को समेत अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो ।

तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकपछि बुधबार  साँझ जारी गरिएको विज्ञप्ति अनुसार उपत्यका भित्रमा १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने छ ।

यात्रुबाहक सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनुरुप सामाजिक दूरी कायम हुने गरी एक लहरमा एक जना (कुल क्षमताको आधाबाट नबढ्ने गरी) बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।

यसरी सवारी साधन सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । सवारी साधनको ढोका मै स्यानिटाइजरको व्यवस्था हुुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा सवारी साधन दैनिक निसङ्क्रमण गराएको हुनेपर्नेछ ।

सार्वजनिक सूचनाअनुसार औषधि र पानीजन्य व्यवसाय चौविसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम राखिएको छ । अन्य खाद्यवस्तु, दुध, तरकारी फलफूल, माछामासुका व्यवसाय विहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने छन् । यसअघि उक्त व्यवसाय साँझमा रोक लगाइएको थियो ।

सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । सपिङ् मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ । भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुने छन् ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, ईलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्टमेन्टल स्टोर विहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । सवारी साधन सम्बन्धी वर्कसप विहान ८ देखि राति ८ सम्म सञ्चालन हुनेछ । टेक–अवे सेवा तथा होमडेलिभरी सेवा भने दिउँसो १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उद्योग कलकारखाना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै बस्ने, खाने व्यवस्था मिलाउन भनिएको छ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरी अनलाईनन कक्षा र त्यस्ता सेवासँग मिल्ने सेवाहरु सञ्चालन गर्न सकिने छ । विदेश जाने व्यक्तिलाई आवागमनमा सहजीकरण गरिने छ ।

अत्यावश्यक वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । बैंक वित्तीय संस्था नेपाल राष्ट्र बैंकको मापदण्डअनुसारसञ्चालन हुने जनाइएको छ । उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्