RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२७ गते
९३५ पटक

काठमाडौं । विश्व बैंकका अनुसार नेपालको अर्थतन्त्रले एक दशकमा ४० लाखलाई नयाँ रोजगारी दिएको छ । नेपाल जब डाइग्नोस्टिक रिपोर्टअनुसार सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा ४० लाखले रोजगारी पाएका हुन् ।
रिपोर्टअनुसार रोजगारी सिर्जना भए पनि यो केवल ज्यालादारीमा सीमित भएको छ ।

प्रतिवेदनले नेपालको अर्थतन्त्र कृषिबाट आधुनिक सेवामा आधारित हुँदै गएको पनि औंल्याएको छ । सन् १९९८ मा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ३८ प्रतिशत रहेकोमा सन् २०१८ मा त्यो घटेर ३२ प्रतिशतमा झरेको छ । सोही अवधिमा सेवा क्षेत्रको योगदान भने ४५ प्रतिशतबाट ५३ प्रतिशतमा पुगेको छ । अर्थतन्त्रका उद्योग क्षेत्रको योगदान भने त्यस अवधिमा १७ प्रतिशतबाट खुम्चिएर १५ प्रतिशतमा पुगेको छ ।

प्रतिवेदनले गुणस्तरीय रोजगारीको अवसर महिलाका लागि उपलब्ध नभएको पनि स्पष्ट पारेको छ । निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापारजस्ता क्षेत्र मात्र होइन विदेशमा पनि पुरुष कामदारले नै अवसर बढी पाएको प्रतिवेदनमा औंल्याइएको छ । यद्यपि, सन् २००८ मा कुल १७ प्रतिशत हिस्सा रहेको महिला कामदारको संख्या सन् २०१८ मा २४ प्रतिशत पुगेको छ ।

ज्याला पाउने काममध्ये पनि अधिकांश अर्थात् १७ लाख १० हजार अस्थायी रोजगारी सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ । ज्याला नपाउने २१ लाख २० हजार रोजगारमध्ये १६ लाख ९० हजार महिला रहेको पनि अध्ययनको निष्कर्ष छ । तीमध्ये १२ लाख ४० हजार कृषिमा आबद्ध थिए । महिलाले एक दशकको बीचमा पाएको रोजगारीमध्ये तीनचौथाइ ज्याला नपाउने घरायसी काम र खेतीपातीसँग सम्बन्धित रहेको देखिएको थियो । त्यसबीचमा ४ लाख ४० हजार पुरुष ज्याला नपाउने काममा रहेको देखिएको छ ।

विश्व बैंकका अनुसार प्रदेशगत रूपमा प्रदेश नम्बर ३ ले यस अवधिमा सबैभन्दा बढी रोजगारी दिएको छ । जसमध्ये आधाभन्दा बढी काठमाडौंमा सीमित छन् । भूकम्पपछि निर्माण क्षेत्रले गति लिएसँगै साढे ५ लाख मानिसले रोजगारी पाएको पनि उल्लेख छ ।

कुल ४० लाख रोजगारीमध्ये १८ लाख ३० हजार अर्थात् ४६ दशमलव ३३ प्रतिशत तलब वा ज्याला पाउने काम रहेको छ । त्यस्तै, २१ लाख २० हजार अर्थात् ५३ दशमलव ६७ प्रतिशत ज्याला नपाउने काम भएको पनि अध्ययनले देखाएको छ ।

ज्याला पाउनेमध्ये अधिकांश रोजगारी पुरुषले गरेको तथा ज्याला नपाउने काममा महिलाको बाहुल्यता रहेको पनि अध्ययनले देखाएको छ । ज्याला पाउने १८ लाख ३० हजार रोजगारीमध्ये १२ लाखभन्दा बढी पुरुषले पाएको र ५ लाख १० हजार मात्रै महिलाले पाएको अध्ययनको आँकडा छ ।

सन् २००८ मा कुल रोजगारमध्ये १७ प्रतिशत मात्रै ज्याला पाउने काममा रहेकामा एक दशकपछि २४ प्रतिशत पुगेको थियो । देशभित्र ३८ लाख र देशबाहिर २८ लाख गरी जम्मा ६६ लाख नेपालीले मात्रै ज्याला वा तलब पाउने काम गरिरहेको पनि अध्ययनले देखाएको छ ।

रोजगारी सिर्जनाका हिसाबले सन् १९९८ मा कृषि क्षेत्रले ७६ प्रतिशतलाई काम दिएकोमा २०१८ मा ६३ प्रतिशतले मात्रै कृषिमा काम पाएका थिए । यस अवधिमा उद्योग क्षेत्रले प्रदान गर्ने रोजगारी १० प्रतिशतबाट बढेर १६ प्रतिशत र सेवा क्षेत्रको रोजगारी १४ बाट बढेर २१ प्रतिशत पुगेको थियो ।

विश्व बैंकका अनुसार कुल रोजगारीमध्ये सन् २००८ मा १७ प्रतिशत रहेको नियमित तलबी रोजगारी सन् २०१८ मा आइपुग्दा बढेर २४ प्रतिशतमा पुगेको छ । त्यस्तै, सन् २०१८ मा नेपालमा ३८ लाख मानिस जागिर गर्थे । जसमध्ये २८ लाख जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका थिए । विश्व बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश पुरुष छन् ।

राजधानी दैनिकबाट………………………………

प्रतिकृया दिनुहोस्