RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३० गते
७७६ पटक

डा. गोविन्द केसीले सोमबारदेखि जुम्लामा १९औँ सत्याग्रह सुरु गरेका छन् । जुम्लामा यो उनको दोस्रो सत्याग्रह हो ।

लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. केसीले जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालामा सोमबार दिउँसो २ बजेदेखि सत्याग्रह सुरु गरेका हुन् ।

उनी ६ वटा माग राखेर सत्याग्रहमा बसेका छन् । यसअघि १६ असार ०७५ मा पनि उनी जुम्लामा १६औँ सत्याग्रह बसेका थिए । यसअघिका सम्झौता पालना नहुँदा र सम्झौताविपरीतका काम गर्न थालेकाले महामारीले ग्रस्त बनाएको अहिलेको अवस्थामा पनि संघर्षमा ओर्लनुपरेको डा. केसीले जनाएका छन् ।

‘कर्णालीमा स्थानीय प्रशासनले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने हाम्रो नागरिक अधिकार कुण्ठित गर्न हरेक तिकडम अपनाएको छ,’ उनले भने । सरकारले अहिले पनि आफ्ना समर्थक र शुभेच्छुक मात्र नभई सम्पर्कमा आउने सबैमाथि निगरानी गर्ने र धम्क्याउने गरेको उनको आरोप छ । जसले गर्दा सत्याग्रहमा बस्न बाध्य भएको डा. केसीको भनाइ छ ।

उनको पहिलो मागमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ । त्यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सुरु गर्न, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग राखेका छन् ।

त्यस्तै, मास्कको प्रयोग र दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि समेत उचित उपचारको व्यवस्था गर्न आग्रह गरेका छन् । यसअघि सरकारले १० साउन ०७५ मा गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न माग राखेका छन् ।

विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरेका छन् । उनको पाँच मागमा अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेट व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

उनले छैटौँ मागमा अनियमितता तथा भ्रष्टाचार छानबिन गरी कारबाही गर्न पनि माग गरेका छन् । जसमा राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइडबडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्डलगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीलाई कानुनबमोजिम छानबिन र कारबाही गर्नुपर्ने उल्लेख छ ।

यस्तै, बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही गर्न, यी सबै प्रकरणका दोषीलाई कारबाही नगरेर सत्ताको इसारामा उन्मुक्ति दिने अख्तियारका बहालवाला तथा सेवानिवृत्त आयुक्तमाथि पनि कानुनबमोजिम छानबिन र महाभियोगलगायत कारबाही गर्न पनि डा. केसीले आग्रह गरेका छन् । नयाँ पत्रिका दैनिकबाट …………………

प्रतिकृया दिनुहोस्