RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३० गते
१०२२ पटक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघसंस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।

पार्टीले अन्तरपार्टी निर्देशन– ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउन्डेसन, अध्ययन केन्द्रजस्ता संस्थालाई प्रदेश, जिल्ला र स्थानीय तहमा कुनै पनि शाखा गठन र गतिविधि गर्न रोक लगाउने निर्देशन दिएको हो ।

नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन– ५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन । पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायत नाममा त्यस्ता संस्था खोलिएका छन् । तीमध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरूमा पनि शाखा खोलिएका छन् ।

‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरू परिचालित छन् । तीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानलाई नियमन गर्न जरुरी छ,’ अन्तरपार्टी निर्देशन– ५ मा भनिएको छ । पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको हो ।

 

अन्तरपार्टी निर्देशन– ५ मा सचिवालयले प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालले नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भए पनि त्यसबाट पार्टीलाई नै नोक्सान पुऱ्याउने किसिमको गुटबन्दी गर्न नहुने बताए । उनले नेताका नाममा खोलिएका अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अंकुश लगाउनुपरेको स्पष्ट गर्नुभयो ।  ‘नेताका नाममा खोलिएका प्रतिष्ठानले तिनै नेताको विचार र आदर्शलाई प्रचारप्रसार र तिनले  पुऱ्याएको योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुपर्ने हो,’ उनले भने, ‘तर, त्यसरी खोलिएका प्रतिष्ठानले  नेताहरूको विचार र आदर्शलाई भुलेर पार्टीभित्र गुटबन्दी गर्न थालेकाले व्यवस्थित बनाउन अहिलेलाई रोक लगाइएको हो ।’

उनले प्रतिष्ठानले पार्टीको नीतिबाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले नेताका नाममा स्थापना हुने प्रतिष्ठानलाई पार्टीमातहत ल्याएर सञ्चालन गर्नुपर्ने धारणा पनि राखे ।

तत्कालीन नेकपा (एमाले)ले पनि प्रतिष्ठानलाई व्यवस्थित बनाउनका लागि भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।  उक्त कार्यदलले तयार पारेको ‘प्रतिष्ठान सञ्चालन निर्देशिका’ प्रतिवेदन केन्द्रीय कमिटीमा बुझाउन नपाएको उनले गुनासो गरे । उनले आफूले त्यतिवेला प्रतिवेदन बुझाउन पाएको भए प्रतिष्ठानलाई व्यवस्थित गर्न सकिने बताए ।

उनका अनुसार उक्त निर्देशिकामा प्रतिष्ठान पार्टीमातहत सञ्चालन गर्नका लागि प्रतिष्ठान समन्वय कमिटी गठन गर्ने उल्लेख  थियो । पूर्वएमाले र माओवादी पार्टीले निर्णय गरेर प्रतिष्ठान वा संघसंस्था स्थापना गरेका छन् । कतिपय नेताले आफूखुसी दिवंगत नेताका नाममा प्रतिष्ठान, फाउन्डेसन र अध्ययन केन्द्र जस्ता स्थापना गर्ने गरेको पाइएको छ ।

अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीका नेताका नाममा प्रतिष्ठान वा कुनै संघसंस्था स्थापना गर्नु आवश्यक रहे पनि त्यसका नाममा पार्टीभित्र गुटबन्दी गर्नु पार्टीकै हितविपरीत हुने बताए । उनी प्रतिष्ठानलाई पार्टीकै गतिविधि नगरी गैरराजनीतिक क्रियाकलाप गर्न छुट दिनुपर्ने सुझाब दिन्छन् । पार्टीभित्र विद्यमान प्रतिष्ठानले गुटबन्दी गरेकाले त्यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्