RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/६ गते
५७० पटक

अनसनका क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अनसनस्थलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।

नेपालगन्जस्थित भेरी अस्पतालमा नयाँ पत्रिकासँग कुरा गर्दै डा. केसीले केपी शर्मा ओली सरकारले पूर्व सहमति कार्यान्वयन गर्नुको साटो आक्रमण गर्ने योजना बनाएको जानकारी पाएकाले काठमाडौं जाने निर्णय लिएको बताए ।

साढे तीन करोड नेपाली जनताका लागि आफूले फेरि अनशन बसेको बताउँदै उनले एक बर्षअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेको बेला आक्रमण गर्नेहरु अहिले पनि सरकारमा भएकोले डर लागेको बताए ।

‘एक बर्षअघि अनसन बस्दा सरकारको निर्देशनमा म माथि आक्रमण भएको थियो,’ उनले भने ‘हिजो सुनियोजित तरीकाले आक्रमण गर्नेहरुले फेरि आक्रमण नगर्लान भन्न सकिन्न ।’

उनले आफुमाथि आक्रमणको तयारी भइरहेको भन्ने सूचना पाएपछि तत्काल काठमाडौं फर्किने योजना बनाएको बताए ।

तपाईलाई सरकारले जुम्लाबाट नेपालगन्ज पठाएको हो की ? आफू आउनु भएको हो भन्ने जिज्ञासामा उनले आफै नेपालगन्ज हुँदै काठ्माडौं जान लागेको बताए ।

‘म सरकारको एक रुपैँया खर्च गराउने पक्षमा छैन । अनसन बसेको बेला सरकारी रकमबाट उपचार गराउने पक्षमा छैन । जुम्ला आफ्नै पैसामा गएको थिए । आफ्नै पैँसामा फर्किदै छु,’ डा. केसीले भने, ‘मेरो उपचार गर्ने रकम गरिब, असहाय, निमुखा बिरामीमा खर्च गर्न म सरकारसँग आग्रह गर्दछु ।’

डा. केसीले २९ भदौंबाट जुम्लामा अनशन सुरु गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएकोले चिकित्सकको निगरानीमा रहेका डा. केसीको अवस्था नाजुक बन्दै गएको छ ।

उनी लामो समयसम्म बोल्न सक्दैनन् । उनी बुद्ध एयरबाट दिउँसो १२ बजेको उडानमा नेपालगन्जबाट काठमाडौं गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्