RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१२ गते
५०८ पटक

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशन केन्द्रित विवाद तीव्र बन्न पुगेको छ । दुई नेताबीचको विवाद तीव्र बन्दै जाँदा कांग्रेसको १४औं महाधिवेशन नै अनिश्चित् बन्न लागेको भन्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् ।

नेता पौडेल समूहले महाधिवेशनको निष्पक्षता र सुनिश्चिततासहित विषयमा प्रश्न उठाउँदै असोज १९ गतेभित्र पूर्ववत् निर्णय फिर्ता लिन माग गर्दै विरोधपत्र बुझाउने तयारी गरेका छन् । पार्टीभित्र विवाद बढाउनेभन्दा आपसी समझदारीमा महाधिवेशन सुनिश्चित गर्नुपर्ने भन्दै सिटौलाले शनिबार सभापति देउवा र आइतबार नेता पौडेललाई भेटेका छन् ।

फागुनका लागि तय महाधिवेशनको कार्यतालिका नकारात्मक ढंगबाट प्रभावित भएको भन्दै सिटौलाले दुवै नेताहरूलाई अब फेरि महाधिवेशनको कार्यतालिका प्रभावित नहुनेगरी अघि बढ्न आग्रह गरेका छन् । ‘अहिलेको मूल सरोकार १४औं महाधिवेशन सुनिश्चित् गराउनु हो,’

सिटौलाले भने, ‘अहिलेको विवादले महाधिवेशन अनिश्चिततातिर धकेलिने देखिएको छ । त्यसका लागि आपसी छलफलबाटै महाधिवेशन सुनिश्चित् गर्न दुवै नेतालाई आग्रह गरेको छु ।’

महाधिवेशन मिति घोषणापछि सभापति देउवाले विभाग गठन गर्नुका साथै जथाभावी क्रियाशील सदस्यता वितरण गरेको भन्दै पौडेल समूहले प्रश्न उठाउँदै आएको छ । महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने काम सभापति देउवा र नेता पौडेल दुवै पक्षबाट हुन नहुने पनि सिटौलाको तर्क छ । उनले जीवन्त पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसको परिणामलाई पार्टीका सबै नेता तथा कार्यकर्ताले स्वीकार गर्नसक्ने हुनुपर्ने बताए । ‘महाधिवेशनपछि पार्टीमा बृहत् एकता कायम हुनुपर्छ,’ सिटौला भन्छन्, ‘आन्तरिक छलफल, वादविवादलाई कुशलतापूर्वक व्यवस्थित गरेर जनताबीच जानुपर्छ ।’ नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्