RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१९ गते
५२७ पटक

विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकमध्ये तीन महिनामा ८० हजार नेपाली स्वदेश फर्किएका छन् । यो संख्या नेपाल फर्किएका ९१ हजार नेपालीमध्ये मुख्य ७ श्रम गन्तव्यबाट फर्किएकाको मात्र हो । करार सम्झौता तथा भिसाको म्याद समाप्त भएका, अवैधानिक, र कोभिड १९ का कारण रोजगारी गुमाएका ८० हजार श्रमिक स्वदेश फकिएका हुन् ।
कोरोना महामारीका कारण श्रम गन्तव्यबाट रोजगारी गुमाई नेपाल फर्किनसक्ने ४ लाखमध्ये आइतबारसम्म सो संख्याका नेपाली फर्किएको कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ । सरकारले खाडीका ६ देश र मलेसियामा रहेका १३ लाख ४८ हजार मध्ये ४ लाख ७ हजार फर्कने अनुमान गरेको थियो । व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु भएपछि फर्कनेको संख्या हाल केही बढेको छ ।
विदेशस्थित नेपाली नियोगबाट प्राप्त सूचनाका आधारमा मलेसियाबाट ३७ हजार, कतारबाट १ लाख ४५ हजार, साउदी अरबबाट १ लाख २० हजार, यूएईबाट ६७ हजार फर्कने छन् । तर, ति देशबाट हालसम्म ५५ हजार मात्र फर्किएको देखिन्छ । विश्व बैंकले विद्यमान संकटका कारण विश्वभर १५ प्रतिशत बेरोजगार हुने अनुमान गरेको भए पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने औषत २५ प्रतिशतको रोजगार गुम्ने अनुमान छ । यद्यपि हालसम्म रोजगारी गुमाउने नेपाली श्रमिकको संख्या भने अनुमानितमात्र हो ।
रोजगार विज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीहरू अदक्ष रहेका कारण उनीहरूकै रोजगारी धेरै गुम्ने बताउँछन् । परिवन्दमा परी गैरकानुनी रूपमा काम गरिरहेका धेरै नेपालीले समेत यो संकटमा रोजगारी गुमाएको उनको भनाइ छ । विश्वभर जनसंख्याको १५ प्रतिशत बेरोजगार हुने विश्व बैंकको आकलनलाई आधार मान्दा पनि रोजगार गुमाउने नेपालीको संख्या २५ प्रतिशतभन्दा कम नहुने देखिन्छ । यस दृष्टिले पनि करिब ४ लाखको हाराहारीमा नेपाली श्रमिकलाई उद्धार गर्नुपर्ने प्रारम्भिक आकलन गर्न सकिन्छ । कोरोनाको संक्रमण लामो अवधिसम्म रहने देखिएका कारण फर्किनेहरूको संख्या बढ्दै जाने अनुमान छ ।
पूर्व श्रमसचिव पूर्णचन्द्र भट्टराई नेपाली कामदारहरू श्रम स्वीकृति लिएर खाडीबाहेक अन्य मुलुकहरूमा पनि कार्यरत रहेको र हाल कोभिड १९ को संक्रमण बढदै गईरहेको परिपे्रक्ष्यमा नेपाल फर्किन सक्ने संख्या केही थप हुन सक्ने बताउँछन् । यसका अतिरिक्त भारतमा रोजगारी गुमाइ फर्किनसक्ने संख्या तथा भिजिट भिसा वा आजाद भिसा आदिमा विदेश गएर काम गरिरहेका, विद्यार्थीलगायत अन्य प्रयोजनमा विदेशमा रहेका तर कोभिड १९ का कारण स्वदेश फर्किनसक्ने सम्भावित संख्या समेत जोड्ने हो भने उक्त संख्या बढ्ने सरकारले गरेको अध्ययनले देखाएको छ ।
हाल फर्कनेमध्ये श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृति-करार अवधि समाप्त भइ नेपाल फर्कन तयार भएका तर लकडाउनका कारण विदेशमा बसीरहेका श्रमिकहरू धेरै रहेका छन् । सीमित उडानका कारण उनीहरू नेपाल फर्कने प्रतिक्षामा रहेका छन् । यसैगरी नयाँ श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) लिई वैदेशिक रोजगारीमा गएका तर करार अवधिभित्र कोरोना महामारीका कारण रोजगारी गुमाई स्वदेश फर्किने पनि धेरै हुने श्रम मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ । स्वदेश फर्कने तयारीमा रहेका मध्ये पुनः श्रम स्वीकृति वा वैधानिकीकरण भइ वैदेशिक रोजगारीमा गएका र रोजगारी गुमाएका र श्रम स्वीकृति लिएको कम्पनी छाडी अन्यत्र रोजगारमा रही गन्तव्य मुलुकमा गैरकानुनी हैसियतमा बसेका रहेका छन् ।
कोरोना संक्रमणका कारण हाल विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ । यसमा रोजगारीका लागि विदेश गएको श्रमिकको संख्या बढी छ । एनआरएनए समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरूमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्