RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१९ गते
१२०६ पटक

कोभिड संक्रमणको बढ्दो प्रकोपसँगै मध्यम र लामो दूरीका सवारीसाधनमा यात्रुको संख्या घट्दै गएको छ । सोही कारण हरेक वर्ष दसँै सुरु हुनु एक महिनाअघि खुल्ने अग्रिम टिकट बुकिङ खुल्ने–नखुल्ने टुंगो लागेको छैन ।

दुई हप्ताअघि नयाँ बसपार्कबाट दैनिक न्यूनतम १५ सय यात्रु टिकट काट्न आउने गरेकोमा करिब ५० प्रतिशत घटेको नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रबन्धक सुनील कुँवरले बताए । उनले भने, ‘नियमित टिकट काउन्टर नै खाली–खाली छन् ।’

तर, यात्रु घटे पनि २५ असोजदेखि अग्रिम टिकट खोल्ने सम्भावना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘शुक्रबार सबै सरोकारवालासँग बस्दै छाैँ, त्यसपछि अग्रिम टिकट खोल्छौँ,’ उनले भने ।

परिस्थिति अझ भयावह भएर सरकारले नयाँ निर्णय गरे, त्यसैअनुसार हुने उनको भनाइ छ । आइतबार मात्रै स्वास्थ्य मन्त्रालयले जो जहाँ छ, त्यहीँ बसेर दसैँ मनाउन नागरिकहरूलाई आग्रह गरेको छ ।

यता यातायात व्यवसायी भने यो वर्ष दसैँ, तिहार र छठका लागि अग्रिम टिकट आवश्यक नरहेको बताउँछन् । ‘यसपटक अग्रिम टिकट खोल्ने निर्णय अहिलेसम्मको परिस्थितिले होला, आवश्यक देखिएको छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने । काठमाडाैं उपत्यकामा कलकारखाना, विद्यालय, कलेज, रेस्टुरेन्ट नखोलिएको र ती क्षेत्रमा संलग्न धेरै मानिस घरमै रहेकाले यो वर्ष यात्रु धेरै नहुने व्यवसायीहरूको आकलन छ ।

महासंघले देशभरका यातायात व्यवसायी संगठनका नेतृत्वलाई राजधानी बोलाएको छ । उनीहरूसँगको छलफलपछि मात्र आवश्यक देखिएमा सरकारलाई अग्रिम टिकट खोल्न सुझाब दिने व्यवसायी महासंघ छ । ‘अहिले हामी त्यसैको तयारी गरिरहेका छाँै,’ अध्यक्ष कर्माचार्यले भने । ६ महिनादेखि बेरोजगार बनेका चालक–सहचालकलाई रोजगारीमा फर्कन अवसर मिलेको र थन्किएका सवारीसाधन सञ्चालनमा आउनु भनेकोे सकारात्मक रहेको अध्यक्ष कर्माचार्यले जानकारी दिए ।

नयाँ बसपार्कबाट दैनिक २२५ गाडी छुट्दै

नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रबन्धक सुनील कुँवरका अनुसार दैनिक २ सयदेखि २ सय ५० सवारीसाधन गुड्ने गरेका छन् । अघिल्ला वर्षहरूमा यसवेला ५ सय सवारीसाधन चल्ने गर्थे । गाडी थप गर्नुपर्ने वेलामा नियमित चल्ने गाडी पनि घटाउनुपर्ने अवस्था आएको महाप्रबन्धक कुँवरले जानकारी दिए ।

यसअघि २९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सवारी सुचारु गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायी र मजदुर संगठनहरूले चालक–सहचालक, परिचालक र बुकिङ कर्मचारीले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजर (चालकबाहेक) लगायतका स्वास्थ्य उपकरण अनिवार्य प्रयोग गर्ने गर्नुपर्छ । त्यस्तै, सवारीसाधनमा चढ्दा, ओर्लंदा र लामो तथा मध्यम दूरीको हकमा खाना–खाजा खाने समयमा भौतिक दूरी कायम गर्नुपर्छ भने सवारीसाधनमा यात्रु चढ्नुअघि स्यानिटाइजरको व्यवस्था गरिएको हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्