RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२३ गते
६३२ पटक

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरूमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरको चरम अभाव देखिएको छ । पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर नहुँदा संक्रमण पुष्टि भएका र नभएका दुबै विरामीलाई दैनिकजसो सकस हुँदै आएको छ ।

गम्भीर प्रकृतिका बिरामीहरूले सितिमिति अस्पतालमा बेड पाउन सक्दैनन् । यस्तै, लक्षणसहितका गम्भीर प्रकृतिका संक्रमितले समेत बेड नपाएर छटपटिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर २ हजार ६ सय आईसीयू र नौ सय भेन्टिलेटर छन् । यस्तै २० हजार ७ सय ६५ आइसोलेसन बेड छन् । यसबाहेक देशभरका मेडिकल कलेजमा सात सय आईसीयू बेड, २ सय ३८ भेन्टिलेटर र ४ सय ५८ जना तालिमप्राप्त स्वास्थ्यकर्मी रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा १ सय ८१ वटा आईसीयू बेडमध्ये ८२ वटा र ७६ भेन्टिलेटरमध्ये २७ भेन्टिलेटर प्रयोगमा आएका छन् । काठमाडौं उपत्यका संक्रमणको दृष्टिकोणले हटस्पट बनेको छ । तर, उपत्यकाभित्रका सरकारी र निजी अस्पतालमा बेडको चरम अभाव छ ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएका उपत्यकाका १० सरकारी अस्पतालमा २ हजार ८ सय ६८ जनरल बेड, ३ सय ५१ आइसोलेसन बेड रहेका छन् । यस्तै, उपत्यकाका निजी अस्पताल र मेडिकल कलेजहरूमा ३ हजार ५ सय ३ जनरल बेड, रहेका छन् ।

भेन्टिलेटर र आईसीयू पर्याप्त मात्रामा नहुँदा गम्भीर प्रकृतिका बिरामीहरू निकै मारमा परेका छन् । तर, सरकार भेन्टिलेटर र आईसीयू थप्न लागिपरेको छैन । आईसीयूमा भर्ना हुनुपर्ने बिरामीहरूलाई केही अस्पतालले वेटिङमा राखेको पाइएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि काठमाडौं कीर्तिपुरमा होम आइसोलेसनमा बस्दै आएका प्यूठानका ४८ वर्षीय पुरुषमा एक्कासि छाति दुख्ने समस्या देखियो । उनका आफन्तले घरबाटै नजिकै पायक पर्ने भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । अस्पतालले बेड नभएको जानकारी दियो ।

दाङ दुधरासकी ५२ वर्षीया एक महिलामा एक्कासि स्वाद थाहा नपाउने र उच्च ज्वरो आउने समस्या देखियो । परिवारको सल्लाहअनुसार उनी पीसीआर टेस्ट गर्ने र नजिकैको अस्पतालमा भर्ना हुने निर्णयमा पुगिन् । उनले भनिन्, ‘के गर्नु लक्षण देखिए पनि टेस्ट गर्न पाइँदैन ? अस्पतालमा भर्ना हुनलाई पीसीआर रिपोर्ट चाहिने । अस्पतालले पनि बेड छैन भन्ने जवाफ दिन्छ ।’

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले अस्पतालहरूमा आईसीयू भरिएको भन्दै बिरामी मारमा परेको बताए । उनले भने, ‘अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन, आईसीयू प्याक भएका छन्, भेन्टिलेटरको पालो कुर्दा ज्यान गएको छ । सिकिस्त बिरामीले अस्पताल चहार्दा चहार्दै बाटोमै मृत्यु भएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ४२ जना भेन्टिलेटरमा र २ सय ३५ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय २८ जना आईसीयू र ३० जना भेन्टिलेटर, लुम्बिनीमा ३९ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आईसीयू र ४ जना भेन्टिलेटरमा र प्रदेश २ मा १४ आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ जना आईसीयूमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । बिहीबार देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको प्सिीआर परीक्षण गीरएको छ । यस्तै, बिहीबार २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । काठमाडौं उपत्यकामा बिहीबार मात्रै थप २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्