RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/५ गते
९४३ पटक

महेन्द्रनगर-कञ्चनपुरको बेदकोट नगरपालिकाले कृषि क्षेत्रमा चार करोड लगानी गर्ने भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष नगरपालिकाले कृषि क्षेत्रमा उल्लेख्य लगानी गर्न लागेको हो । कोभिडबाट प्रभावित भएका नगरबासीलाई कृषिमा आत्मनिर्भर तथा व्यवसायीकरण गराउन नगरपालिकाले कृषि क्षेत्रमा लगानी गर्ने भएको हो ।

नगरपालिकाले कृषिक्षेत्रमा उद्यमशिलताको विकासका लागि यूएनडीपी संस्थासँगको साझेदारीमा झण्डै २ करोड र नगरपालिका क्षेत्रबाट गरेर झण्डै चार करोड बराबरको कृषि लक्षित कार्यक्रम ल्याएको छ । यसअघि जिल्लाको हकमै दूधमा आत्मनिर्भर बनेको नगरपालिकाले अब तरकारीमा आत्मनिर्भर हुने योजना बनाएको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दका अनुसार नगरपालिकाले नगरका विभिन्न वडालाई विभिन्न पकेट क्षेत्रमा विभाजन गरेर कृषि क्षेत्रमा लगानी गर्न लागेको छ ।

“ नगरपालिकाले नगरपालिकाको वडा नम्बर १ र २ मा आलुखेती, ३ र ४ मा च्याउखेती, ५ र ६ मा खुसार्नीखेती, ७ र ८ मा लसुनखेती र वडा नम्बर ९ र १० मा प्याजखेती सञ्चालन गर्ने गरी कार्ययोजनासहित कार्यक्रमका लागि बजेटसमेत व्यवस्थापन गरेको छ ।” बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले भने, “यस्तै तरकारी खेतीका कार्यक्रमसँग अन्य कृषि केन्द्रित कार्यक्रम नगरपालिकाले ल्याएको छ, तीमध्ये सबैजसो युवालक्षित एवं बेरोजगारलक्षित छन् ।” नगरपालिकाले यस वर्षमात्रै कोभिडबाट प्रभावित भएका युवा तथा विभिन्न नागरिक लगाएत ४ सय ५ जनालाई कृषि क्षेत्रबाटै रोजगार बनाउने योजना बनाएको प्रमुख चन्दले बताए ।

यस्तै नगरपालिकाले १ वडा १ नर्सरी बनाउने योजना पनि बनाएको छ । नगर क्षेत्रको कृषि क्षेत्रमा पर्याप्त सम्भावना बोकेको क्षेत्रलाई नगरपालिकाले उजागर गर्ने प्रयास गरेको छ । नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कुखुरा, भैंसी, बाख्रापालन, केरा, बेसार खेतीलगायतका विभिन्न कार्यक्रम ल्याएको छ । “सामान्यतया एक दुई कट्ठा क्षेत्रफलमा अनुदानका लागि तरकारी खेती गर्ने नागरिकका लागि नभएर व्यावसायिक बन्ने चाहना भएको नागरिकका लागि नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमसँगै विभिन्न अनुदान पनि दिएको छ,” प्रमुख चन्दले भने, “गहुँको बीउ वितरणमा पनि नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ, यस वर्षका धेरैजसो कार्यक्रम लागू हुने चरणमा छन् भने केही लागू भइसकेको छ ।”

यस वर्ष नगरपालिकाको लगानी पछि कृषि क्षेत्रमा सोचेअनुरुप व्यावसायीककरण भयो भने आउँदो वर्षमा कृषि क्षेत्रमा लगानी अझै बढाउँदै जाने उनले बताए । नगरपालिकाको योजना भनेको प्रत्येक बेरोजगार नागरिकलाई नगरभित्रै रोजगार दिनु भएकाले पनि कृषि क्षेत्र रोजगारको पहिलो क्षेत्र भएकाले नगरापालिकाले कृषिमा लगानी गरेको समेत उनले बताए । नगरपालिकाले यस वर्ष सिँचाइ नभएका स्थानमा सिँचाइका कार्यक्रम पनि ल्याएको छ ।

सिँचाइ नभएका ठाउँमा सिँचाइ पु¥याउने उद्देश्य स्वरुप नगरपालिकाले सिँचाइ कार्यक्रमका योजना बनाएको छ । यस्तै नगरपालिकाले १ वडाको दुई ठाउँमा पोलिहाउस निर्माण गर्ने कार्यक्रम पनि अघि सारेको छ । यस्तै नगरपालिकाले ५ ठाउँमा ६ सय लिटरको फ्रिज पनि वितरण गर्ने योजना बनाएको छ । योसँगै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । “बजार क्षेत्रमा अरु उत्पादनभन्दा स्थानीय उत्पादनको माग हुँदै आएको छ, बजारको माग धान्न स्थानीय उत्पादनको पनि राम्रो बजार देखिएको छ, बजार प्रवद्र्धन तथा बेरोजगार रहेका नागरिकलाई स्वरोजगार बनाउने उद्देश्य स्वरुप नगरपालिका कृषि क्षेत्रबाट अघि बढेको छ,” प्रमुख चन्दले भने । कारोबार दैनिकबाट …………..

प्रतिकृया दिनुहोस्