RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२१ गते
४७४ पटक

वैज्ञानिकहरू भन्छन्, ‘कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भए पनि जनजीवन सामान्य अवस्थामा फर्कन समय लाग्नेछ’

कोरोना भाइरस (कोभिड १९) महामारीले आक्रान्त बनेको विश्व मानव जीवन यतिखेर भ्याक्सिनको व्यग्र प्रतीक्षामा छ । उनीहरूको अपेक्षा छ कि भ्याक्सिन आएपछि अवस्था सामान्य बन्नेछ । मानव जीवन फेरि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कनेछ । के भ्याक्सिन आएपछि हामी सबैले अपेक्षा गरेको जस्तै मानव जीवन कोरोना भाइरस सुरु हुनुपहिलेको जस्तै सामान्य बन्ला त ? धेरै वैज्ञानिकहरूले भने अवस्था पहिलेको जस्तै सामान्य बन्न समय लाग्ने जनाएका छन् । उनीहरूले भ्याक्सिन आएपछि पनि हामीलाई ‘मास्क’विना हिँडडुल गर्न अझै लामै समय कुर्नुपर्नेछ । उनीहरूको चेतावनी छ कि मानव समुदायले यस्ता संक्रामक रोगविरुद्ध फेरि हेलचेक्र््याइँ गर्नुहुँदैन ।

भ्याक्सिन सबैलाई उपलब्ध हुन सक्दैन
भ्याक्सिनलाई आधुनिक विश्वमा चिकित्सकीय क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलोमध्येको उपलब्धि मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार भ्याक्सिनले प्रत्येक वर्ष अन्दाजी २० देखि ३० लाख मृत्युलाई रोक्ने गरेको छ । त्यस क्रममा भ्याक्सिनले २० भन्दा बढी जीवन नै लिने घातक रोगलाई फैलनबाट रोकेको छ । एक पुस्ताअघिसम्म सामान्य बनेको बालबालिकालाई लाग्ने रोग अहिले लोप नै भइसकेका छन् । लाखौँ हजार मान्छेको ज्यान लिएको ती रोगलाई भ्याक्सिनले नै पूर्णतया निर्मूल पारेको हो । तर, त्यो सफलता प्राप्त गर्न वर्षाैंको मिहिनेत लागेको थियो । यो परिप्रेक्ष्यमा हामी निकै छोटो समयमा कोरोना भाइरसजस्तो विश्वभर फैलिएको महामारीविरुद्ध त्यस्तै प्रभावकारी भ्याक्सिनको अपेक्षा गरिरहेका छौँ ।

अहिले पनि धेरै देशले कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको प्रयास गरिरहेका छन् । त्यसमध्ये कतिपय ठाउँमा आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त गरेका र अन्तिम चरणमा पुगेका भ्याक्सिनको प्रभावकारिता ९० देखि ९५ प्रतिशतसम्म देखिएको छ । यसको अर्थ हो, भ्याक्सिन लगाएका दशमध्ये झन्डै नौजनामा कोभिड–१९ विकास हुनेछैन । यो समाचारले धेरैलाई उत्साहित तुल्याएको छ । धेरैले सोचेका छन् कि अब हामीले चाँडै नै शारीरिक दूरीको नियम मान्नुपर्ने छैन र मास्क पनि प्रयोग गर्नुपर्ने छैन ।

यद्यपि, धेरै वैज्ञानिक र स्वास्थ्यविज्ञहरूले सबैले अपेक्षा गरेजस्तो अवस्था आउन अझै समय लाग्ने जनाएका छन् । त्यसको पछाडि केही महत्वपूर्ण कारण छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी र भाइरसविरुद्ध अग्रपंक्तिमा खटिनेहरूलाई प्राथमिकतामा राखिएको छ । यसले उनीहरूलाई बचाउनेछ । यो महत्वपूर्ण उपलब्धि नै हुनेछ । तर, भ्याक्सिन सर्वसाधारणको पहुँचमा पुग्न लामै समय लाग्नेछ । यसले गर्दा भाइरस संक्रमण रोकिनेछैन । त्यसवेलासम्म अरू व्यक्तिको ज्यान जान सक्नेछ । सीमित संख्याको उत्पादन, ढुवानीमा देखिएको जटिलतालगायत कारणले पनि यो अवस्था पुरानै अवस्थामा फर्कन समय लाग्ने देखाएको छ ।

केही मान्छेमा भ्याक्सिन प्रयोग हुनेछैन
भ्याक्सिन कहिल्यै शतप्रतिशत प्रभावकारी हुँदैन । ‘मिजल्स भ्याक्सिन’ अहिलेसम्म पत्ता लागेकोमध्ये सबैभन्दा प्रभावकारी भ्याक्सिन हो, जसले ९५ देखि ९८ प्रतिशतसम्म मान्छेलाई बचाउन सक्छ । भर्खरै सार्वजनिक गरिएका फाइजर/बायोनटेक र मोर्डना कोभिड–१९ भ्याक्सिनको पनि अहिले ९० प्रतिशतभन्दा माथिको प्रभावकारिता देखिएको छ ।

 

यद्यपि, ठूलो संख्यामा यसको प्रयोग गरिँदा यसको प्रभावकारिताको स्तर घट्ला वा उत्तिकै रहला भन्ने हेर्न बाँकी छ । अहिलेकै अवस्थामा पनि भ्याक्सिन लगाउनेमध्ये प्रत्येक दशमा एकजना असुरक्षित हुनेछन् । अर्थात्, प्रत्येक दशमध्ये एकजनालाई यो भ्याक्सिनले बचाउन सक्नेछैन । ठूलो संख्यामा प्रयोग नगरिँदासम्म र त्यसको नतिजा प्राप्त नहुँदासम्म यसको प्रभावकारिताको पूर्ण रूपको मूल्यांकन गर्न मुस्किल छ ।

यसको एउटा फरक पाटो पनि छ । अहिले प्रयोगका लागि केही देशमा आपत्कालीन अनुमति प्राप्त गरेका र धेरै चर्चामा रहेका भ्याक्सिनले सबै शरीरमा आफ्नो प्रभाव देखाएको छ । सामान्यतः कतिपय वृद्धवृद्धाको शरीरले भाइरसको प्रभावलाई सहयोग गर्न सक्दैन । अर्थात्, कतिपय वृद्धवृद्धाको शरीरमा भ्याक्सिनको प्रभाव धेरै हदसम्म नदेखिन सक्छ । त्यसका साथै क्यान्सर रोगको उपचार गराइरहेका मानिसहरूमा पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सम्भव नहुन सक्छ । यो वर्गका मानिसहरू भ्याक्सिन सर्वसाधारणको पहुँचमा पुग्दासमेत सबै मानिस सुरक्षित हुनेछैनन् । त्यसका बाबजुद धेरै मानिसलाई भने भ्याक्सिनले बचाउनेछ ।

६५ देखि ७० प्रतिशतमा ‘हर्ड इम्युनिटी’ देखिएपछि विश्व कोरोनामुक्त

वैज्ञानिकहरूले के कुरामा जोड दिइरहेका छन् भने जबसम्म सबै जनसंख्यालाई पुग्ने भ्याक्सिन उत्पादन हुँदैन र उनीहरूका लागि प्रयोग गरिँदैन, शारीरिक दूरीको नियम अन्त्य हुनेछैन । ‘यदि तपाईंले जोखिममा रहेका व्यक्तिहरूलाई मात्रै बचाउनुभयो भने पनि ठूलो सफलता हुनेछ । यसले अस्पतालमाथि अहिले देखिएको भार पनि कम गर्नेछ । तर, यसले भाइरस संक्रमण रोक्नेछैन,’ एकजना बेलायती प्राध्यापक डेभिड सालिस्बेरी भन्छन्, ‘भ्याक्सिन नलगाएका व्यक्तिहरूबीचमा संक्रमण फैलिरहेकै हुनेछ । यो पनि गम्भीर अवस्था हुनेछ ।’

यही अवस्थालाई रोक्न हामीले सबै क्षेत्र र सबै उमेरसमूहका व्यक्तिहरूमा यो भ्याक्सिन लगाएकै हुनुपर्नेछ । अहिलेको विश्व एकदमै जोडिएको छ । व्यापार व्यवसाय र अरू धेरै कारणले धेरै यात्रा भई नै रहेको छ । यसले नै भाइरस संक्रमण थप तीव्र रूपमा फैलाउनेछ । ‘यो विश्वव्यापी महामारी हो । त्यसैले पनि यसलाई रोक्न विश्वभरि नै भ्याक्सिन प्रयोग गरिएको हुनुपर्दछ,’ उनी भन्छन् ।

अमेरिका र बेलायतलगायत केही देशले सबैलाई भ्याक्सिन लगाउन सुरु गर्ने योजना तय गरेका छन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका प्रमुखले आगामी अप्रिलसम्म जोखिममा रहेका सबैलाई भ्याक्सिन लगाइने जनाएका छन् । यसपछि चाँडै नै १६ वर्षभन्दा माथिका सबैलाई भ्याक्सिन लगाउने कार्यक्रम रहेको उनले जनाएका छन् ।

– एजेन्सीको सहयोगमा  नयाँ पत्रिका दैनिकबाट ………….

प्रतिकृया दिनुहोस्