RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२ गते
८०३ पटक

काठमाडौँ, फागुन २ गते ।  सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

वर्तमान सरकार गठन भएको दुई वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुर्ननिर्माणको कामलाई तीव्रता दिएको हो ।

विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालिसकेका छन् । तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारीरूपमा अघि बढाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा २०७४ फागुन ३ गते वर्तमान सरकारको नेतृत्व लिनुभएको थियो । समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि सार्नुभएका प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएर यसको विकास विस्तारमा जोड दिनुभएको छ ।

सरकारले पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रमा पनि नेपालको पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रुपमा व्याख्या गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा हाल पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई बढाएर १० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

नेपालको पर्यटन क्षेत्रलाई विशेष अभियानकै रुपमा प्रवद्र्धनका लागि सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियान सञ्चालन गरिरहेको छ । सन् २०२० जनवरी १ तारिखका दिन भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुभएको थियो । भ्रमण वर्ष चलिरहेको सन्दर्भमा नेपालको पर्यटन क्षेत्रमा केही नकारात्मक प्रभावका सङ्केत देखिएका छन् । चीनको हुवई प्रान्तको वुहानलगायत सहरमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्यामा प्रभाव पार्नेछ भने अन्य मुलुकबाट पनि नेपाल आउने पर्यटकको कमी हुने अनुमान गरिएको छ ।

पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । विसं २०७४ चैत २ गते पर्यटनमन्त्री बन्नुभएका अधिकारीको विसं २०७६ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी दुःखद् निधन भयो । यो घटनाले पर्यटन क्षेत्रले अभिभाव गुमाएको अवस्था सिर्जना भयो तर, त्यो अभावलाई किन्चित खड्कन नदिन प्रधानमन्त्री स्वयंले पर्यटन क्षेत्रमा चासो लिएर जल्दाबल्दा विषयलाई व्यवस्थापन गर्न अभिभावकीय जिम्मेवारी निर्वाह गर्नुभयो । फलस्वरुप पर्यटन क्षेत्रले आफ्नो विकासको अविचलित यात्रामा पूर्ण विराम लगाउनुपरेन ।

करिब पाँच महिनाको अन्तरालपछि नेकपाका युवा नेता योगेशकुमार भट्टराईले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभो । मन्त्री भट्टराईले गत भदौ ९ गते पत्रकार सम्मेलन पर्यटन क्षेत्रमा नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत १४१ बुँदे कार्ययोजना ल्याउनुभएको थियो ।गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस्