RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२४ गते
७७२ पटक

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई सुखद रूपमा हेरिएको छ । यद्यपि चिकित्सकले सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक सय जनामध्ये ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १ लाख ७६ हजार ५३५ जना पुरुष र ९५ हजार १७२ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये ०.७४ प्रतिशत अर्थात् २ हजार ३५ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ जनाको कोरोना परीक्षण भएको छ ।

देशभर शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार १०८ जना रहेको छ । पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

यस्तै देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा छन् । ६४ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आईसीयू र भेन्टिलेटरमा छैनन् । बाग्मती प्रदेशमा ३१ आईसीयू र नौ जना भेन्टिलेटरमा, गण्डकीमा पाँच जना संक्रमित आईसीयूमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा २६ आईसीयू र तीन जना भेन्टिलेटरमा रहेका छन् । कर्णाली प्रदेशमा एक एक जना आईसीयू र भेन्टिलेटरमा छन् । सुदूरपश्चिम प्रदेशमा एक जना आईसीयूमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको १० लाख डोज कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख ७१ हजार नाघेको छ । १०औं दिनसम्म २०१ खोप केन्द्रबाट १ लाख ७१ हजार ४८६ जनाले खोप लगाएका छन् ।

प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७५६, बाग्मतीमा ५९ हजार ९४२, गण्डकीमा १७ हजार ३१५, लुम्बिनीमा २६ हजार ८९८, कर्णालीमा ८ हजार ६८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनाले खोप लगाएका छन् । भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिसिल्ड खोप पहिलो प्राथमिकतामा परेका ४ लाख ३० हजार जनालाई आज शनिबारसम्म लगाउने लक्ष्य राखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने जनाएको छ । स्वास्थ्य मन्त्रालयले निर्णय गर्दै खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ माघमा खोप अभियानको शुभारम्भ गरेका थिए ।

नेपालले आगामी फागुनसम्म कोभ्याक्सअन्तर्गत थप २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने सम्भावना छ । सो खोप प्राप्त भए आमसर्वसाधारणले पनि प्राथमिकताका आधारमा लगाउन पाउनेछन् ।

राजधानी दैनिकबाट………….

प्रतिकृया दिनुहोस्