RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१ गते
५८४ पटक

काठमाडौँ: चीनले अनुदानको रुपमा नेपाललाई दिने भनिएको कोरोनाविरुद्धको खोप अझै दर्ताकै प्रक्रियामा रहेको बताइएको छ ।

साथै दर्तापछि मात्रै उक्त खोप नेपालमा ल्याउने बाटो खुल्ने अधिकारीहरूले बताएका छन्। बीबीसी नेपालीमा प्रकाशित समाचार अनुसार कोभ्याक्स सुविधामार्फत् खरिद गर्न लागिएको खोप छिट्टै आउने र फागुन अन्तिम सातासम्म उमेर समूहमा खोप कार्यक्रम सुरु गरिने बताइएको छ।

नेपालमा भारत सरकारले दिएको कोभिशील्ड खोप लगाउँदै गत माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान जारी छ । उक्त अभियान अन्तरगत हाल दोस्रो प्राथमिकता समूहमा राखिएका व्यक्तिहरुले खोप लिने क्रम जारी छ ।

चीन सरकारले पाँच लाख मात्रा खोप दिने भनिरहँदा उक्त खोप हालसम्म नेपालमा दर्ता नै भइनसकेको अवस्थामा अन्योलता थपिएको छ । यद्यपि चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दर्ताका लागि प्रक्रियामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर हालसम्म भारतमा उत्पादन गरिएको कोभिशील्डले मात्रै नेपालमा दर्ता भएर आपत्कालीन प्रयोगको अनुमति पाएको हो ।

भारतले दिएको खोप अहिलेसम्म झन्डै दुई लाख जनालाई लगाइएको र झन्डै तीन लाखलाई पुग्नेगरी खोप बचेको पनि बीबीसीको उक्त समाचारमा उल्लेख छ ।

फागुन २ गतेदेखि ८ गतेसम्म ७७ वटै जिल्लाका सरकारी कार्यालय, बैंक, सुरक्षाकर्मी, पत्रकार, स्थानीय जनप्रतिनिधि र पहिलो प्राथामिकताको खोप लगाउन छुटेकाहरूलाई दिइने बताइएको छ। सरकराले भने सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दैआएको छ ।

अन्नपुर्ण पोष्ट दैनिकबाट…….

प्रतिकृया दिनुहोस्