RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/९ गते
६६१ पटक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आजबाट अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै आजदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् ।

काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार धर्ना बसेका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागेको नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

केसीका अनुसार आज तीन जिल्लाका सभापतिहरु अनशनमा बस्नेछन् । नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बस्ने छन् ।

प्रत्येक दिन नयाँ तीन जिल्लाका सभापतिहरु अनशनमा बस्ने केसीले जानकारी दिए । ‘जबसम्म हाम्रा माग सम्बोधन हुँदैन, तबसम्म अनशन जारी रहन्छ,’ सभापति केसीले भने, ‘यो जिल्ला सभापतिको माग होइन, देशभरका क्रियाशील सदस्यको भावनाको प्रतिनिधित्व हामीले गरेका हौं ।’

नेपाली कांग्रेसले १४औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको । वडा अधिवेशन आउन १० दिन पनि बाँकी नरहेका बेला निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन । पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गर्ने तयारी छ । कांग्रेसले यसपटक वेबसाइटमै सदस्यता इन्ट्री, उजुरी दर्ता गरेको थियो भने नामावली सार्वजनिक पनि वेबसाइटमै गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्