RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/९/२४ गते
२०१ पटक

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ ।

काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थपिएको श्रम प्रवक्ता डन्डुराज घिमिरेले बताए । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृतिलगायत सेवा पोखरा र बुटवलबाट सुरु गरिएको थियो । सर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिइँदै आएको छ ।

चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान भएको घिमिरेले बताए । ‘श्रम स्वीकृतिका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन । सबै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ,’ उनले भने ।

श्रम मन्त्रालयले समयमै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन आग्रह गरेका छन् । ‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि समयमै अनलाइन आवेदन नगर्ने अवस्था छ । श्रम स्वीकृतिका लागि आवेदन गर्नुअघि नै टिकट किन्ने, कम्प्युटर प्रणालीबाट निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणालीविपरीत अन्तिम समयमा मात्र पेस गर्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘यस्तो हुनु भनेको सुधारका दृष्टिले उपयुक्त नभएकाले समयमै आवेदन गर्न मन्त्रालयको आग्रह छ ।’

वैदेशिक श्रम स्वीकृतिमा अनलाइन प्रणाली पूर्ण रूपमा लागू गरी नागरिकलाई प्रविधिमैत्री सरकारी सेवासुविधा दिन सफल भएको भन्दै वैदेशिक रोजगार विभागलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्