RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२० गते
७४२ पटक

भक्तपुर, फागुन २० गते । कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइनमुक्त भएका छन् ।

यही फागुन ४ गतेदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका नेपाली सोमबारबाट घर फर्किएका हुन् । चीनबाट ल्याइएका १७५ जनालाई कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको थियो । दोस्रो चरणमा पनि कोरोना भाइरस नेगेटिभ आएपछि सोमबार एक समारोहबीच उनीहरूलाई बिदाइ गरियो ।

१६ दिनसम्म क्वारेन्टाइनमा बिताएका नेपाली बिदाइ हुने क्रममा नेपाल सरकार जिन्दावाद, नेपाली सेना जिन्दावाद, नेपाली मिडिया जिन्दावाद, नेपाल प्रहरी जिन्दावादजस्ता नारा लगाउँदै चीनबाट उद्धार
भएकोमा खुसी देखिन्थे । धेरैबेरसम्म नेपाल सरकार, मिडिया र नेपाली सेनाको जयजयकार गर्नुभएका उहाँहरूले जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो ।

यदि सरकारले चीनबाट उद्धार गरेर नल्याएको भए आफूहरूलाई कोरोना सङ्क्रमण हुनसक्ने, चीनमा खान, बस्नको असुविधा हुनेजस्ता समस्याबाट आफूहरू मुक्त भएको उहाँहरूले बताउनुभयो । चीनबाट उद्धार गरेर क्वारेन्टाइनमा बस्नुभएका डा. गौरव पोखरेलले आफूहरूलाई सरकारले ठूलो गुण लगाएको बताउनुभयो ।

यतिको व्यवस्थापन होला भनेर पत्याउन नसकेको भन्दै उहाँले भन्नुभयो, “सरकारले हाम्रा लागि धेरै ठूलो काम गरेको छ । सायद यतिखेरसम्म चीनमा भएको भए हामीमध्ये कतिपयलाई कोरोना भाइरस लागिसकेको हुन्थ्यो ।” विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन अवधिभर दुईपटक थ्रोट स्वाबको परीक्षण गर्नुपर्छ । दुवै पटकको परीक्षणमा उहाँहरूमा कुनै पनि समस्या वा भाइरस पोजेटिभ नदेखिएपछि सोमबार बिदाइ गरिएको हो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्