RaraNews

चन्द्रकान्त आचार्य प्रकाशित : २०७७/११/१५ गते
३४८ पटक
चन्द्रकान्त आचार्य

सुर्खेतको कार्यक्रम सम्पन्न भइसकेपछि मौसमअनुकूल भएकाले मुगुमा रहेको राराताल भ्रमण गर्न र जुम्लाका बन्धुहरूसँग भेटघाट गर्ने योजना बन्यो । अनि हामी दैलेखतिर प्रस्थान ग¥यौँ । यो २०७६ जेठ २५ गतको कुरो हो । वीरेन्द्रनगर बजारदेखि झन्डै एक घण्टामा गुराँसे पुगियो । सुर्खेतदेखि वनभोजका लागि आउने रमाइलो थलोका रूपमा गुराँसे प्रख्यात रहेछ । यहाँबाट एकातिर सुर्खेतका सुन्दर बस्ती र वीरेन्द्रनगरका रमणीय बजार क्षेत्र देखिन्छ भने अर्कातिर दैलेखका विभिन्न पहाडी क्षेत्रमा अवस्थित गाउँ हेर्न पाइन्छ । हामी भने दैलेख सदरमुकाम पुग्ने धुनमा लाग्यौँ । बेलुकाको ९ः३० बजेतिर दैलेख सदरमुकाम नारायण नगरपालिका पुगेर बास बस्यौँ । यही नगरपालिकामा पुर्खाको मूल थलो भुर्ती पनि पर्दो रहेछ । यहाँ पाण्डवहरूले वनवासको समयमा आफूहरू बस्नका लागि बनाएका पञ्चदेवल रहेछ । यो क्षेत्रमा यो ठाउँ निकै नै प्रख्यात रहेछ ।
भुर्तीबाट फर्केर दैलेख सदरमुकाम हुँदै श्रीस्थान र नाभीस्थान पुगियो । नाभीस्थानमा कहिल्यै ननिभ्ने ज्वालाहरू दुई ठाउँमा रहेछन् । यहाँ पेट्रोलियम पदार्थ प्रचूर मात्रामा रहेको भनिएको छ । यहाँबाट अघि बढी दुल्लु बजारमा रहेको दुल्लु सांस्कृतिक सङ्ग्रहालय अवलोकन गर्न पुग्यौँ । यसपछि दुल्लु–धुलेश्वर शृङ्खलाको तेर्सो बाटो अघि बढ्यौँ र मन्दिर पुगेर धुलेश्वर महादेवको दर्शन ग¥यौँ । दुईवटा सवारीसाधनमा रहेका बन्(धुहरूबीच सम्पर्क कायम हुन नसक्दा अघिल्लो गाडीमा रहेका बन्धुहरू छिटो कर्णाली राजमार्गमा पुग्नुभयो र भोजनको तारतम्यमा लाग्नुभएछ भने हामी धुलेश्वरतिर लागेर केही ढिलो गरी कर्णाली राजमार्गतिर झ¥यौँ ।
कर्णाली राजमार्ग अति सहज सडकका रूपमा निर्माण गरिएको रहेछ । हामी दैलेखको बाटो गएकाले यस राजमार्गलाई कर्णाली नदीको किनारामा भेट्यौँ । केहीबेर कर्णाली राजमार्गमा यात्रा गरेपछि माल्तडा भन्ने सानो बजारमा थकाइ मार्न पुग्यौँ । त्यसपछि साँझ कालीकोट सदरमुकाम मान्म बस्ने गरी हामी अघि बढ्यौँ । बाटोमा चर्चित ठाउँ राकम भेटियो ।
वारि दैलेख पारि अछामका दृश्य परिवर्तित भएर वारिपारि दुवैतिर कालीकोटले रजाइँ गर्न थाल्यो । अपार ऊर्जा लिएर बगिरहेको कर्णालीले कालीकोटलाई चिनाउँदै रह्यो । तलैबाट देखियो सुन्दर नगरी मान्म । कताकता पाल्पा तानसेनको झझल्को दिन खोज्ने तर बढी भिरालो पाखोमा अवस्थित सेता घरहरूले सुशोभित थियो कालीकोटको सदरमुकाम मान्म ।
पहिले अति दुर्गम मानिने जिल्ला हो कालीकोट । लाग्थ्यो यहाँ पुग्न असम्भव छ । दायाँबायाँ अग्ला पहाड, तिनको बीच गहिरो खोँचमा कर्णाली नदी ठूलो बेगले बगिरहने । अलि अगाडि बढ्दै जाँदा तिला नदी भेटियो । मान्मातिर उकालो लाग्ने ठाउँभन्दा पहिल्यै चट्टानी क्षेत्र भएकाले राजमार्ग साँघुरियो । अर्घाखाँची सुपादेउराली मन्दिरको आसपास साँघुरो सडकमा गरिने यात्राको स्मरण यहाँ पनि भयो । हामी पहाडी जनजीवनमा हुर्केका, भीर, पहिरा, चट्टानमा दौडने गरेका यात्रीलाई त्यो साँघुरो सडक पनि त्यति डरलाग्दो लागेन तर यसबेला कुनै ठूलो बस या ट्रक अर्कोतिरबाट आए के होला भन्ने कल्पना गर्दागर्दै दुई भीमकाय ट्रक आमुन्नेसामुन्ने तेर्सिए । हाम्रा दुई साना गाडी पछि सर्दै जाँदा कतै चक्का बाटोबाट पर उछिट्टिन्छन् कि भन्ने डर थपियो तर कुशल चालकहरूले बाटोलाई सहजै खुलाए । हामी कालीकोट पुग्यौँ । विकट ठाउँमा खान बस्न कस्तो दुःख हुन्छ होला भन्ने सोचाइविपरीत कालीकोटमा ह्वाइट हाउस अतिथिगृहमा रमाइलो गरी बस्यौँ र मीठो खाना पनि खायौँ ।
मान्माबाट बिहानै राराका लागि हिँड्यौँ । बाटो उस्तै साँघुरो हुँदै अगाडि बढ्दा तिला नदीको किनारामा पुगियो र फेरि कर्णाली राजमार्गले ठूलो आकार लियो । यसपछि तिला नदीको किनारै किनार लागेर नाग्मा पुगियो ।
कर्णाली राजमार्गको प्रसिद्ध ठाउँ हो नाग्मा । जुम्ला खलङ्गाबाट आएको तिला नदी र उत्तरतिरबाट आउने हिमा नदीको सङ्गममा पर्छ नाग्मा बजार । बजारदेखि तीन सय मीटर परबाट हिमाको किनारा हुँदै मुगु जाने बाटो छ भने त्यस नदीमाथि बेली ब्रिज तरेर तिलाको दायाँ किनारामा जुम्ला जाने कर्णाली राजमार्ग पर्छ । हामी पहिले रारा जाने विचारमा हुँदा मुगु जाने बाटो हिमाको किनारातिर लाग्यौँ । हिमा नदीको वारिपारिको भागलाई सिञ्जा उपत्यका भनिने रहेछ ।
सिञ्जा उपत्यका हरियो, रसिलो र रमणीय लाग्यो । नदीको वारिपारि रसिला फाँट रहेछन् । त्यहाँ धान रोप्ने रोपाहार महिलाका रमाइला समूह देखिए । विचित्र त के देखियो भने एउटा गरामा धान रोपाइँ भइरहेको छ, अर्कोमा लहलह गहुँ फलिरहेको छ । अर्कोतिर तोरी फुलिरहेको देखिन्छ । केही माथि अति मिलेका बस्ती छन् । सुन्दर घरहरू पुराना र आधुनिक प्रविधि प्रयोग गरेर बनाइएका छन् । कृषि व्यवसाय पनि फस्टाएको छ ।
सिञ्जाको माथिल्लो भागको एउटा थुम्कोमा कनकासुन्दरीको राम्रो ठूलो मन्दिर रहेछ । टाढैबाट अवलोकन गरियो । कनकासुन्दरी मन्दिर क्षेत्रबाट सडक उकालो लाग्यो । अहिलेसम्म त जुम्ला सुगम मात्र लागेको थियो तर जति उकालो चढ्दै गयो, भीरपाखा देखेर डर लाग्न थाल्यो । तर, यो डर धेरै बेर टिकेन । जति माथि गयो सल्लाका रुखसहितको हरियालीले रमाइलो अनुभूति गरायो । यही हरियालीसँगै पुगियो पहाडहरूको बीचमा रारा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार । निकुञ्ज प्रवेशद्वारमा सबैको नाम लेखेर प्रतिव्यक्ति सय रुपियाँ दस्तुर बुझाइयो । यो यहाँको नियम नै रहेछ । निकुञ्ज प्रवेश गरेसँगै हरियो जङ्गल र चौरमा गाई, घोडा चरिरहेका मनमोहक दृश्य देखिए । त्यति धेरै उचाइमा रमणीय समथर भूभाग देख्दा अब रारा ताल नजिकै छ भनेर दङ्ग परेका बेला बाटो फेरि तलतिर ओर्लियो । जुम्लाभन्दा अलि फरक ढाँचामा गुजुमुज्ज परेका गाउँहरू देख्ता विकट पहाडी भूभागमा प्रवेश गरेको अनुभूति भयो । निकै तल झरेर तेर्सो बाटो लाग्यौँ र पुनः उकालो सुरु भयो । अन्ततः ताल्चा विमानस्थलतिर जाने र रारातिर जाने बाटो छुट्टियो । हामी रारातिर लाग्यौँ । अब उस्तै हरियाली देखिन थाल्यो । साँझ पर्ने बेलामा राराको नजिकै पर्ने सल्लेरी भन्ने ठाउँमा हामी पुग्यौँ ।
सल्लेरीमा हामी पुगेको रात घनघोर मेघ गर्जनसाथ पानी पर्न सुरु ग¥यो । यहाँ आएका बेला एक झर पानी प¥यो भने पनि यात्रा नै ठप्प हुन्छ भनेर काठमाडौँमा मित्रहहरूले भनेको सम्झियौँ । बाटोका पहिरो पनि सम्झियौँ तर हामी रारा पुगिसकेका थियौँ । त्यसैले अब रारामा रमाउन कुनै शक्तिले हामीलाई छेक्न सक्दैन भन्ने अठोट भने मनमा बसिसकेको थियो । अनि आरामले सुतियो । बिहान उठ्दा पानी रोकिएको थियो । आकाश नीलो एकदम सफा । रानी रारालाई नुहाइधुवाइ चिटिक्क पार्न प्रकृतिले सेचन गराएको मात्र रहेछ । हामी सौभाग्यशाली यात्री रहेछौँजस्तो लाग्यो । गाडी गुड्ने बाटोबाट एक घण्टा पैदल हिँडेपछि समतल भूभागमा लमतन्न परेर सुतेको नीलो सागर प्रतीत हुने उच्च स्थानको सबभन्दा विशाल सरोवर राराताल ! दायाँबायाँ हरिया पर्वत शृङ्खला, अलि पर छेउमा सेता हिमाल टल्केको र तल चिरिच्याट्ट मिलेका जङ्गल । पाँच किलोमिटर लम्बाइ र अधिकतम चौडाइ तीन किलोमिटर भएको राराको सुन्दरतामा निखरता थप्ने रहेछन् जेठदेखि असोजसम्म फुल्ने विभिन्न पूmलले ।
खाना खाएर १०ः३० बजेको समयमा हामी राराबाट बिदा भयौँ र जतिसक्यो छिटो जुम्ला सदरमुकाम खलङ्गा पुग्ने उद्देश्यले ओरालो लाग्यौँ । नजिकैको मुगुको सदरमुकाम गमगढी जान नसकेकामा भने पछुतो भयो । तिला नदी र हिमा नदीको सङ्गमस्थल नाग्माबाट हिमाको दुवै किनारामा पैmलिएको सिञ्जा उपत्यकाकोे रमाइलो यात्रा गर्दै हामी मुगु प्रवेश गर्दै रारा पुगेका थियौँ । अब नाग्माबाट हिमा नदीमाथि बेली ब्रिज तरेर तिला नदीको दायाँ किनाराको कर्णाली राजमार्गबाट हाम्रा दुवै गाडी जुम्ला सदरमुकाम खलङ्गातिर अगाडि बढे ।
जुम्ला बजार प्रवेश गर्दा साँझ पर्नै लागेको थियो । त्यहाँको प्रसिद्ध चन्दननाथ मन्दिरमा बेलुकी र बिहानको आरतीमा सहभागी भयौँ । यसैगरी आचार्यबाडाको ठूलो चौरमा भेला भयौँ । आचार्यबाडामा सर्वप्रथम सूर्यका किरणले स्वागत गरे । अनि ज्येष्ठ नागरिक बन्धु कालीप्रसाद आचार्यले सबैलाई टीका लगाइदिनुभयो । महिला दिदीबहिनीले मङ्गलगान गाएर स्वागत गरे । दिदीबहिनीले गाएका मङ्गलगानमा अर्घाखाँचीमा हाम्रा आमाहरूले गाउने मङ्गलगानकै लय र भाका भेट्टाउँदा पुर्खाको थलोमा भावुकता उर्लियो ।
समयले हामीलाई सधैँ खेदिरहेको हुन्छ । यहाँ पनि उसले किन छोड्थ्यो, खेदिरह्यो । छोटो बसाइमा पनि अत्यन्त न्यानो माया पाएर भावुक हुँदै यहाँका बन्धुहरूसँग हामी बिदा भयौँ । बाटोमा तातोपानी भएको ठाउँमा एकछिन रमाउन फुर्सद निकाल्यौँ । अब हाम्रा दुइटा गाडी सुर्खेत पुग्ने गरी नाग्मा हुँदै कालीकोटको दिशामा अगाडि बढे ।

प्रतिकृया दिनुहोस्