RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२० गते
६१९ पटक

हाल विश्वका धेरै मुलुकलगायत नेपालमा पनि कोरोना भाइरसको प्रभाव दिनदिनै बढिरहेको छ । नेपालमा जम्मा संक्रमित १ लाखभन्दा माथि पुग्दा विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा संक्रमित देशको सूचीमा ४० देखि ५० भित्रमा नेपाल परिसकेको छ ।

काठमाडौं उपत्यकामा मात्र अधिकांश देशमा देखिएको संक्रमणको दुईतिहाइ संक्रमित देखिने गरेका छन् । बाक्लो बस्ती रहेको यस स्थानमा समुदायस्तरमा नै संक्रमण फैलिएकाले भेला, जमघट हुने क्षेत्र र स्थानहरू तत्काल खुलाउनु नहुने देखिएको छ ।

चाडबाडको चहलपहल र व्यक्तिगत सुरक्षामा ध्यान नदिँदा आज काठमाडौं उपत्यकामा समुदायस्तरमा नै संक्रमण फैलिएको छ । यस्तो अवस्थामा हामी चेतनशील मानवले चेतनशीलता देखाउन जरुरी देखिन्छ । विद्यालय एउटा शिक्षाको मन्दिर हो । यहाँ सबै मानिसले शिक्षित र शिक्षा आर्जन गर्न पाउने अधिकार राज्यको कानुनमा स्पष्ट समेत छ । तर, आज हामी आफैंले बनाएको कानुनभन्दा ठूलो महामारीले विश्वलाई नै त्राही–त्राही बनाइरहेको आज हामी सबैमा विदितै छ ।

हाल नेपालका विभिन्न जिल्लामा जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा विद्यालयहरू सञ्चालन गर्न थालिएको छ । हाम्रो जस्तो विकासोन्मुख देश भौगोलिक विविधताले युक्त देशमा शिक्षा र चेतनाको स्तर गाउँठाउँ, सहरबजारमा भिन्नभिन्न किसिमको छ । गाउँबस्तीमा धेरै जनसंख्या नहुनुका साथै स्वास्थ्य सुरक्षा सामग्रीको अभाव रहेको छ ।

त्यसको प्रभाव भोलिका दिनमा भयावह हुन सक्छ । विद्यालय जमघट बढी हुने क्षेत्रमा पर्छ । सानो कक्षामा पठनपाठन गर्ने विद्यार्थीहरूले आफूआफूले आफ्नो स्वास्थ्यलाई व्यवस्थापन गर्न सक्दैन । त्यस्तो अवस्थामा संक्रमणको दर बढ्ने देखिन्छ । शिक्षक र अन्य सहयोगी कर्मचारीहरूले पनि विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि समय दिन सक्दैनन् ।

आज सामाजिक दूरी पालना गर्न एक युवा समूह पनि तत्पर रहेको देखिन्छ । खुला गरिएका उद्योग, कलकारखानाहरूमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको देखिँदैन । सेनिटाइजर र हात धुनेसम्म पनि राम्रो व्यवस्था छैन । खै कसले नियमन गर्ने, कसले खोजीनिति गर्ने ? यहाँ सत्ता प्राप्ति र खोसाइको खेल कोभिड समाधानभन्दा चर्काे खेल भएको छ । सरकार कोभिडभन्दा सत्ता टिकाउने खेलमा लागेको देखिन्छ ।

त्यसैले विद्यालय एउटा शिक्षाको मन्दिर नै भए तापनि अहिलेको अवस्थामा तत्काल खुला गर्न सक्ने स्थिति भने नरहेको प्रस्ट पार्न चाहन्छौं । संक्रमण र महामारी बढ्दै जाँदा सरकारसँग भएको सीमित स्रोतसाधन प्रयोग गरी ती महामारी भएका क्षेत्रमा स्वास्थ्य सावधानी अपनाउन नसक्ने निश्चित नै छ ।

आज देशमा भेन्टिलेटर, आईसीयू र स्वास्थ्य उपकरण तथा सामग्रीको चरम अभाव रहेको हामीले देखेका, सुनेका र पढेका पनि छांै । त्यसैले यस महामारीमा सकेसम्म हामी सबैको एकता, सहकार्य र समझदारी हुन जरुरी छ । यस्तो महामारीको वर्तमान अवस्थामा वैकल्पिक शिक्षण सिकाइ पद्धतिलाई जोड दिनु आजको प्रमुख आवश्यकता हो ।

आज सहरी क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी अनलाइन कक्षा सञ्चालन भइरहेको छ भने गाउँबस्तीमा पनि शिक्षकहरू विद्यार्थीको घरघरमा गएर उनीहरूको शिक्षण सिकाइमा अग्रसर भइरहेका छन् । यतिबेला विद्यार्थीलाई किताबी ज्ञान बाँड्ने भन्दा पनि सैद्धान्तिक र व्यावहारिक ज्ञान आर्जन गर्नसमेत केन्द्रित रहनुपर्छ ।

कतिपय व्यावहारिक र सैद्धान्तिक ज्ञान आर्जन पनि भविष्यका लागि एक प्रेरणा बन्न सक्छ । कक्षा सञ्चालन गरेर किताबी ज्ञान मात्र बाँड्नुभन्दा विद्यार्थीको रुचि, चाहना र आफ्नो इच्छाअनुसारको क्रियाकलाप गर्न शिक्षक र अभिभावकले आफ्ना बालबालिकाहरूलाई विद्यालय शिक्षा घरमा नै सञ्चालन गर्न अनुरोध गर्छांै ।

आफ्नो सानो लापरबाहीले आफू र आफ्ना छोराछोरीलाई हतारमा विद्यालय पठाउन हतार नगरौं । रोगसँग लड्ने क्षमता विकास गरी एक सभ्य विद्यार्थी, अभिभावकको परिचय दिऔं । साथै, वैकल्पिक शिक्षण सिकाइलाई जोड दिन सबै विद्यार्थी, अभिभावक, शिक्षक र सम्बन्धित निकायलाई अनुरोधसमेत गर्छौं । karobardaily.com

प्रतिकृया दिनुहोस्