RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२१ गते
५९४ पटक

काठमाडौं । कोरोना भाइरस जस्ता संक्रमणबाट बच्न जीवनशैली प्राकृतिक बनाउनुपर्ने विज्ञको जोड छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजद्वारा सोमबार ‘भर्चुअल’ माध्यमबाट आयोजित ‘महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समिति अध्यक्ष डा. हरिप्रसाद पोखरेलले ‘अप्राकृतिक जीवनशैलीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढेको’ दाबी गरे ।

कोभिड दोस्रो लहरपछि अरू पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर समाधान निकाल्न सकिने उनको सुझाव छ । उनका अनुसार नेपालीको भान्सा संस्कृति पहिलेदेखि वैज्ञानिक रहेकामा आधुनिकताका नाममा पछिल्लो समय केही संस्कार बिर्सन थालेकाले पनि मानिसमा रोग बढ्न थालेको छ ।

बेसार, अदुवा, आलस, सिलाम, तिलजस्ता ९० देखि १०० औषधीजन्य बीज सूक्ष्म पोषक तत्वयुक्त चीजबीज फेरि भान्सामा फर्काउनुपर्नेमा पोखरेलले जोड दिए । सुत्केरीलाई खुवाउने बत्तीसा मसला भने अहिले पनि उपयोग भइरहेको छ ।

‘वैदिक कृषि प्रणालीलाई पनि ५० वर्षअघिदेखि हटाएर उत्पादन बढाउने नाममा रासायनिक मल घित्र्यायौं, एक लिटर दूध दिने गाईलाई तीन लिटर दूध दिने बनायौं,’ डा. पोखरलले भने, ‘यसैबाट रासायनिक विषादी आएर मानिसलाई रोगी बनाउन थाल्यो, यसैले अब जैविकसमेत भनिने वैदिक कृषि प्रणालीमा फर्कन जरुरी छ ।’

उनका अनुसार जिराका गेडा पिनेर महिनौं त्यही धुलो प्रयोग गर्ने, पहिले स्वस्थकर मिठाईका रूपमा सेल रोटी प्रयोग हुने गरेको थियो । तरकारी पकाउँदा मेथी, खुर्सानी, लसुनजस्ता चीज डढाउनाले समेत रोग निम्त्याउने गरेको पोखरेको भनाइ छ ।

सेल रोटी थोरै गुलियो र तेलमा बन्न सक्थ्यो त्यसलाई छाडेर धेरै गुलियो र चिल्लो प्रयोग हुने मिठाईका पछि लाग्दा समेत रोग बढ्न थालेकाले सचेत हुन उनले आह्वान गरे । पहिले नेपाली मिठाईका रूपमा प्रयोग हुने खीरको प्रचलनसमेत घट्न थालेको उनको आँकलन छ ।

तयारी भोजन मृत्युको तयारी

चाउचाउ, चिजबल, बिस्कुटजस्ता ‘फास्ट फुड फास्ट डेथ’का कारण बनेको पोखरेलले ठोकुवा गरे । चिनी दिनमा पाँच ग्रामभन्दा बढी खाए बारुदको रूप लिने वैज्ञानिकले नै भन्न थालेकाले यसतर्फ सचेत हुनुपर्ने उनको जोड छ ।

एक मिनेट उमालेको चाउचाउले मानिसको आयुको एक महिना लुट्न सक्ने भएकाले सचेत हुन उनी सुझाव दिन्छन् । चाउचाउको विकल्पमा परम्परागत नुडल्स प्रयोग गर्न सकिने उनको आग्रह छ । यस्ता नुडल्स चोकटबाट बन्ने हुनाले स्वास्थ्य राम्रो हुने उनी बताउँछन् ।

डा. पोखरेलका अनुसार स्मार्ट मोबाइलबाट टिकटक बनाएर पोस्ट गर्नेले स्वास्थ्य ठीकठाक राख्न उपयोग नगर्ने भएकाले पनि जीवनमा समस्या आउने गरेको छ । ‘टेबुलमा बसेर काम गर्नेका लागि दैनिक तीन ग्राम नुन भए पुग्छ,’ उनी भन्छन्, ‘श्रम गर्नेका लागि दैनिक पाँच ग्रामसम्म नुन चाहिने भए पनि बढी प्रयोग गरेर स्वास्थ्यमा खराबी आएकामा उपयोगकर्ता नै सजग हुन सकेका छैनन् ।’

एक पाउ आटामा जति पोषक तत्व पाइन्छ, डेढ किलो मैदामा पनि त्यो तत्व नपाइनेमा पनि सजग हुनुपर्ने पोखरेल औंल्याउछन् । ‘खैरो चामलमा मुटु रक्षा गर्ने तत्व छ, भिटामिन बी १२ पाइन्छ,’ उनले भने, ‘खैरो खुर्केर पशुको दानामा मिसाएर हामी सेतो चामल प्रयोग गरिरहेका छौं, यसो गर्नु गलत हो ।’

हाल, ‘मानिसको मन चलेको छ, शरीर चल्दैन’ भन्दै पोखरेलले ‘मन नचलेर शरीर चले स्वस्थ भइने’ सूत्र पनि सुनाए । ‘पहिले नहिँडी काम चल्दैन थियो, बिहानी हिँडाइ थिएन,’ उनले थपे, ‘नब्बे वर्ष पुग्दा स्वस्थ जीवन हुन्थ्यो गाउँमा, कुटो र कोदाली, उकाली र ओराली नै लामो जीवनयापन गर्ने मुख्य सूत्र भएको छ ।’ अहिलेका मानिस २० मिनेटको बाटोका लागि ४० मिनेट ट्याम्पो कुरेर बस्ने प्रवृत्ति रहेको उनी बताउँछन् ।

शरीरको व्यायामका लागि योगासान, श्वासप्रश्वासका लागि प्राणायाम र मनको व्यायामका लागि ध्यान गरे स्वस्थ एवं दीर्घ जीवनयापन गर्न सकिने भएकाले नियमिततामा ध्यान दिनुपर्ने पोखरेलको भनाइ छ । योगासन, प्राणायाम र ध्यान संस्कार नेपालीले बिर्सेको सयौं वर्ष भइसकेको उनले बताए ।

रोग प्रतिरोधक क्षमता बढाउन अंकुरित गरिएका खाद्यपदार्थ खाने, दही, मोही, खाने भए बिहान खाने बेलुकी नखाने, पानी परेका दिन दही, मोही नखाने, बिहान, बेलुका मन तातो पानीले नुहाउने, बाहिर गई आएपछि कपडा बदल्नेजस्ता जीवनशैली अपनाउनुपर्ने प्राकृतिक चिकित्सक पोखरेलको सुझाव छ । कोरोना तीव्र गतिमा बढाउन चुरोट र रक्सी बढी माध्यम बनेकाले संकल्प गरेर छाड्न पनि उनले सुझाव दिए । रासस

प्रतिकृया दिनुहोस्