RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/११ गते
४४४ पटक

काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको ३ वटा घरसहित  ८ ठाउँमा जग्गा रहेको छ ।  काठमाडौंमा एउटा घर रहेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा उनको १० आना(३३०.७५ वर्गमिटर) जग्गामा बनेको घर छ । मुख्यमन्त्री शाहीले उक्त घर व्यापार व्यवसायबाट भएको आम्दानीले बनाएको उल्लेख गरेका छन् । त्यस्तै हुम्लाको सिमकोट २२ आना र १७ आनामा बनेका दुईवटा घर पनि रहेका छन् ।

सिमकोटमा रहेको एउटा घर भने उनकी श्रीमती बसन्ती शाहीको नाममा रहेको छ। पूर्वसरकारी कर्मचारी शाही अहिले कर्णाली प्रदेश लोक सेवा आयोगकी सदस्यसमेत रहेकी छिन् । उनलाई २०७७ फागुन ६ गते सदस्यमा नियुक्त गरिएको थियो ।

त्यस्तै मुख्यमन्त्री शाहीका नाममा हुम्लाको खार्पुनाथ गाउँपालिका-५ मा २०० रोपनी जग्गा रहेको छ । पुर्ख्यौली सम्पत्तिका रूपमा रहेको उक्त जग्गा सगोलमा रहेको पनि उनले विवरणमा खुलाएका छन् । त्यस्तै खार्पुनाथमै १५ रोपनी जग्गा पनि उनको नाममा रहेको छ ।

त्यस्तै मुख्यमन्त्री बाँकेको खजुरामा १० लाखमा २ बिघा जमिन किनेको बताएका छन् । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-१ मा ५ लाखमा किनेको जग्गा कति छ भन्ने विवरण भने मुख्यमन्त्री शाहीले खुलाएका छैनन् । त्यस्तै श्रीमती शाहीको नाममा ५ आना १० पैसा २ दाम जग्गा रहेको छ । उक्त जग्गा जागिर र व्यापार व्यसायबाट किनेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शाहीले सुनचाँदी पनि उल्लेख्य मात्रामा जोडेका छन् । उनले २०४२ सालदेखि अहिलेसम्म गरी ५६ तोला सुन र २ किलो चाँदी जोडेका छन् । त्यस्तै ३ लाख रुपैयाँबराबरको टप, औँठी र नवरत्न पनि उनीसँग रहेको छ । त्यस्तै विभिन्न बैंकमा गरी उनको नाममा ७७ लाख रुपैयाँ रहेको छ । त्यस्तै श्रीमती बसन्ती शाहीका नाममा ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै गरी शुभचिन्तक सहकारीमा मुख्यमन्त्री शाही र श्रीमतीको नाममा ६/६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै चिलिमे हाइड्रो पावरको २६०० कित्ता सेयर रहेको छ । त्यस्तै ज्योति विकास बैंकमा १० हजार कित्ता प्रमोटर सेयर रहेको छ भने कृषि विकास बैंकको ४ सय कित्ता सेयर रहेको छ ।

 

प्रतिकृया दिनुहोस्