RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/१३ गते
४२० पटक

चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ।

विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनलाई अन्तिमरुप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

प्रतिवेदनमा उल्लेखित विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए। गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गरिने घोषणा गरेका थिए।

समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए। संसदीय छानविन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका थिए।

समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो। समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो। तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो। समितिको अन्तिम म्याद बिहीबार सकिएको छ।

www.nagariknews.com

प्रतिकृया दिनुहोस्