RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/२४ गते
३२० पटक

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म मात्रै कायम रहने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने उल्लेख छ ।

कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ ।

आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई सोमबार अनौपचारिक जानकारीसमेत दिइसकेको छ । ‘आयोगले आफ्नो आन्तरिक कार्यतालिकाका बारेमा अनौपचारिक जानकारी गराइसकेको छ ।

हामीले गर्नुपर्ने काम अब ४० दिनभित्र सक्नुपर्ने भयो,’ संसद् सचिवालयका एक उच्च अधिकारीले भने । प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । यसमा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा अड्किएका विधेयकको संख्या १० वटा छ । यी विधेयक ४० दिनभित्र पारित नभए स्वतः निष्क्रिय हुनेछन् ।

यसअघि व्यवस्थापिका संसद् पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको अघिल्लो दिनसम्म मात्रै चलेको थियो । तत्कालीन सभामुख ओन्सरी घर्तीले आफ्नो नाम बन्दसूचीमा समावेश भएपछि राजीनामा दिएकी थिइन् । उनले राजीनामासँगै संसद्को कार्यकाल अन्त्य भएको थियो । ‘विगतको अभ्यासअनुसार प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिनसम्म मात्रै हुने निश्चित छ,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट चुनिन्छन् । दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेस गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ । संविधानको धारा ९१ को उपधारा ६ (क) मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ । ‘अहिले भएका सांसद नै बन्दसूचीमा परेपछि बाँकी सांसद पनि रहने कुरै आउँदैन,’ सचिवालयका एक कर्मचारीले भने ।

निर्वाचन आयोगले आइतबार स्वीकृत कार्यतालिका आन्तरिक भन्दै गोप्य राखेको छ । ‘सरकारले घोषणा गरेको दिनमा व्यवस्थित रूपमा निर्वाचन गर्न कुन काम कसले, कहिले गर्ने भनेर आन्तरिक रूपमा तयारी गर्न कार्यतालिका बनाएका छौं । यो हाम्रो कामको आन्तरिक चेकलिस्ट हो,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘यसलाई सार्वजनिक गर्दैनौं । आवश्यक पर्दा संशोधन पनि हुन्छ ।’

www.ekantipur.com

प्रतिकृया दिनुहोस्