RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/१५ गते
३९७ पटक

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहनुभएको बेलामा माओवादी केन्द्रका एक नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ’मन्त्री नपाए झुण्डिएर मर्ने’ चेतावनी दिएको चर्चा चलेको थियो । ती नेता मन्त्री भए कि भएनन् थाहा भएन तर माओवादीका ठूला नेताले आत्महत्या गरेको पनि सुनिएन । त्यो चर्चा कुनै पात्र विशेषमा नभई माओवादीमा हुर्कंदै गरेको पद प्राप्तिका लागि मरिमेट्ने प्रवृत्तिमाथिको व्यङ्ग्य थियो सायद !

माओवादीमा प्रचण्डलाई धम्क्याएर, तर्साएर अनि ब्याल्कमेलिङ गरेर अवसरको माग गर्नेहरुको संख्या ठूलै छ भन्ने गरिन्छ । जसका कारण पार्टी खिईंदै जाने तर नेता भने झन् झन् मोटाउने नियति भोगिरहेको छ आज माओवादीले । यसैबीच हालै कर्णाली प्रदेश सरकारका मन्त्री हेरफेरमा एकजना केन्द्रीय सदस्यले त्यस्तै बार्गेनिङ गरेर श्रीमतीलाई मन्त्री बनाउने ’महान’ सफलता हासिल गरेको माओवादी वृत्तमा चर्चा छ ।

माओवादी केन्द्रीय सदस्य रामदिप आचार्यले साउन ३१ गते सामाजिक सञ्जालमा ’अब कठोर निर्णयको मोडमा’ भन्दै स्टाटस लेखे । त्यसलाई लिएर अधिकांश माओवादी कार्यकर्ता र शुभचिन्तकहरुले त्यहिँ प्रश्न गरे । भोलिपल्ट बिहान फेरि उनले ’कठोर निर्णय’ बारे तीन बुँदे स्पष्टीकरण दिँदै लेखे– ‘१. रगत, पसिना र आँशुबाट निर्मित पार्टी परिवर्तन कल्पनाभन्दा बाहिरको हावादारी कुरा हो । २. समानतावादी आन्दोलन र वैज्ञानिक विचार–पद्धतिको अगाडि कुनै पनि रुपको पद प्राप्ति मेरो लागि तुच्छ सवाल हो । ३. पार्टी जमेको पोखरी वा शान्त तलाउ होइन बेगवान नदी हुनुपर्छ । त्यसका लागि म बोल्छु किनकि म मान्छे हो, म बोल्छु किनकि म जिवित मान्छे हो, म बोल्छु किनकि म स्वतन्त्र मान्छे हो ।’

आचार्यले कठोर निर्णयको मोडमा लेख्दै गर्दा माओवादी केन्द्र कर्णाली प्रदेशको बैठक बस्दै थियो । त्यो निर्णय के रहेछ भन्दै माओवादी वृत्तमा खैलाबैलासमेत भयो । सोही समयमा प्रदेश इञ्चार्ज कालीबहादुर मल्ललाई प्रदेशसभा सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष विमला केसीले कृष्णा शाहलाई मन्त्री नबनाएमा खतरा हुने संकेतको रिपोर्टिङ गरिन् ।

इञ्चार्ज मल्लले, ‘तपाईंले कुनै निर्णय लिनुपर्दैन कृष्णा कमरेडलाई मन्त्री बनाइन्छ,’ भन्दै आचार्यलाई जवाफ फर्काए । त्यो सन्देश पाएलगत्तै आचार्यले फेरि भदौ १ गते तीन बुँदे स्पष्टीकरण भन्दै अर्को स्टाटस धस्काए । स्पष्टीकरणमा ‘म माओवादी पार्टीभित्र प्रतिबद्ध छु’ भन्ने उल्लेख छ । कर्णाली प्रदेशका पार्टीको हरेक बैठकमा आचार्य र शाहले अब सरकारको विषयमा के हुन्छ ? भन्दै पटक–पटक एजेण्डा बनाउने गरेको माओवादी वृत्तमा चर्चा छ ।

कृष्णालाई मन्त्री बनाएपछि एक मात्र मन्त्री बन्न बाँकी रातो कामीलाई किन छुटाउने भन्दै माओवादीभित्र छलफल सुरु भयो । छलफलले दुवैलाई मन्त्री बनाउने भन्दै निर्णय गर्यो । तर, मन्त्रालय बाँडफाँडमा अर्को झमेला सुरु भयो । जाजरकोटकै गणेशप्रसाद सिंहले लिएको मन्त्रालयमा त्यहाँकै कृष्णालाई बनाउँदा त्यसको सन्देश राम्रो नजाने भन्दै रामदिपले आर्थिक मामिला मन्त्रालय दिनुपर्ने माग गरे । उनी त्यसमा खरो उत्रिएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा कृष्णा र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा रातो कामीलाई नियुक्त गरियो ।

यसरी मन्त्री फेर्ने कुरामा मुख्यमन्त्री जीवनबहादुर शाही भने खुशी देखिएका छैनन् । ‘काम गर्ने इच्छाशक्ति भएकालाई फिर्ता बोलाउने हो भने कसरी हुन्छ ?’ उनले राम्रो भनिएकाले राजीनामा दिन आएपछि मन्त्रीलाई प्रश्न गरेका थिए । ‘तपाइँहरू हुँदा मन्त्रिपरिषद् जस्तो देखिएको थियो अब फेरि बर्बाद भयो,’ मुख्यमन्त्री शाहीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

जनआस्था साप्ताहिकबाट साभार

प्रतिकृया दिनुहोस्