RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/२९ गते
३३१ पटक

जुम्ला । बाढी-पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ। बाढी–पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो। सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्‍याइएको नेपाली सेनाले जानकारी दिएको छ।

नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात पुर्‍याएको हो।

गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३ सय ८६ घर पूर्ण क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ। यसैगरी, सिंजा गाउँपालिकामा ५१ घर क्षति भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

त्यस्तै, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षति भएको र घरको क्षति कति भयो भन्ने तथ्यांक संकलन भइरहेको बताए।

प्रतिकृया दिनुहोस्