RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/११ गते
२४० पटक

काठमाडौं : चारवटा प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको हो ।

बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

बुधबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

चार वटा प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहने र तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बिहीबार प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

प्रतिकृया दिनुहोस्