RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१६ गते
६३३ पटक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृवको प्रदेश सरकार ढले पनि मुलुकमा एमाले नै पहिलो दल भएको बताउनुभएको छ । चितवनको पटिहानीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले देश बनाउने एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले अनेक षडयन्त्र गरेर सरकारबाट हटाएको तथ्य पनि राख्नुभएको छ ।

उहाँले एमाले नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनको सरकारले गरेको कामको फरक छुट्याउन जनतालाई सहज हुने बताउनु भयो । उहाँले सबै दल मिलेर ५२ प्रतिशत पुर्‍याएर प्रदेशमा सरकार बनाएको तर आफ्नो दल एक्लै ४८ प्रतिशत रहेको बताउनु भयो । अध्यक्ष ओलीले आगामी निर्वाचनमा दुई प्रतिशत मत बढाएर एकल बहुमत ल्याउने बताउनुभयो । बढीमा १३ महिनाभित्र देशमा चुनाव गरिसक्नुपर्ने भन्दै अध्यक्ष ओलीले पाँच दलीय गठवन्धनमा रहेका कुनै पनि दलले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने बताउनुभयो ।

उहाँले एमाले सिध्याए भनेर दंग नपर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभयो । ‘हामीले जिताइ दिएको हो, भोलि कसले बोकिदेला भनेर हिड्न परेको छ’ ओलीले भन्नुभयो, ‘माधव नेपालको हालत पनि उस्तै छ ।’

प्रतिकृया दिनुहोस्