RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२५ गते
८५६ पटक

काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए।

एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति विगत १० दिन देखि शून्य अवस्थामा रहेको खुलासा भएका बेला फेरि बैठक बस्न लागेकाे हाे।

बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने भनेर पत्रकारहरुलाई सकारात्मक संदेश दिएका थिए।

तर बिहीबार बेलुका बसेको बैठक औपचारिक रुपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका हुन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहिबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका वार्ता सदस्य अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरी दुवै पक्षका नेताहरु बाहिरिएका थिए।

बाहिरिने क्रममा नेता भुसालले भने, ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौँ अहिले त्यहि अवस्थामा छौँ। खास प्रगति गरेका छैनौँ।’

यता वार्ता समितिका अर्का सदस्य नेम्वाङले शुक्रबार बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने बताए।

deshsanchar.com

प्रतिकृया दिनुहोस्