RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२३ गते
१०२९ पटक

भ्रष्टाचार अभियोगमा कांग्रेसका तत्कालीन प्रभावशाली नेता खुमबहादुर खड्कासहितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । स्वर्गीय खड्कासहित चिरञ्जीवी वाग्ले र जयप्रकाशप्रसाद गुप्ता सर्वोच्च अदालतको फैसलापछि जेल चलान भएका थिए भने पूर्वशिक्षामन्त्रीसमेत रहेका गोविन्दराज जोशीविरुद्धको मुद्दा सर्वोच्च अदालतमै विचाराधीन छ । शुरोजंग पाण्डेको रिपोर्ट :

खुमबहादुर खड्का
पदीय हैसियतको दुरुपयोग गरी ०५९ सालमा दुई करोड ३६ लाख रुपैयाँ अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, ०६३ सालमा विशेष अदालतले १२ लाख मात्र स्रोत नखुलेको भन्दै खड्कालाई सफाइ दियो । यद्यपि, विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएपछि फैसला उल्टियो । ३० साउन ०६८ मा सर्वोच्चले खड्कालाई दोषी ठहर गर्दैै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार एक सय २२ रुपैयाँ बिगो जरिवानाको फैसला सुनायो ।

चिरञ्जीवी वाग्ले
कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री चिरञ्जीवी वाग्लेलाई तीन करोड दुई लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार अभियोगमा ३ पुस, ०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । ७ साउन ०६१ मा विशेष अदालतले वाग्लेले दुई करोड ७२ लाख ५८ हजार भ्रष्टाचार गरेको ठहर गर्दै अढाई वर्ष कैद सजायसमेत सुनायो । त्यसविरुद्ध वाग्लेले सर्वोच्चमा पुनरावेदन गरे तर अदालतले ०६७ मा दुई करोड तीन लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनाएपछि वाग्ले जेल परे । नेपालको इतिहासमा अकुत सम्पत्ति आर्जनको मुद्दामा सजाय पाउने वाग्ले पहिलो पूर्वमन्त्री हुन् ।

जयप्रकाशप्रसाद गुप्ता
पदीय दुरुपयोग गरी दुई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, ०६४ सालमा गुप्ताले विशेष अदालतबाट सफाइ पाए । विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि १० फागुन ०६८ मा सर्वोच्चले सार्वजनिक पद दुरुपयोग गरी ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै बिगो भराउन र डेढ वर्ष कैद हुने फैसला सुनाएको थियो । ……………………नयाँ पत्रिका दैनिकबाट …..

प्रतिकृया दिनुहोस्