RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२७ गते
१५५२ पटक

पारी पुरानो बटौली, वारी खस्यौली । वारीतिर खासै वस्तिबाक्लिएको थिएन । बागलुङ भिमपोखरामा २०१६ सालमा जन्मनु भएकी नैनकला थापा मगर माइली छोरी हुनुहुन्छ । बुवा नरबहादुर थापा भारतीय सैनिकमा कार्यरत भएकाले बुवासँगै स–परिवार पल्टनतिरै जानुभयो ।

बुवाको पल्टन दार्जलिङ, उडिसा, देहेरादून सरिरह्यो । क्याम्पभित्र बाह्रखरी छिचोल्ने हुनुभयो नैनकला । हवल्दार पदमा अवकास आउनुभयो नरबहादुर । एक वर्ष भिमपोखरामै बस्नुभयोे । ३ बहिनी र एक छोरालाई लिएर २०२४ सालमा नयन कलाका बुवा बुटवल झर्नुभयो । बुटवल राजमार्ग चौराहमा नैनकला हुर्कनुभयो । त्यहीँको कालिका माविमा अध्ययन सुरु गर्नुभयो । दश कक्षा उत्तिर्ण गरेकै साल २०३५/३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । यही क्रममा नेपालको कम्युनिस्ट आन्दोलनको कुनै बेलाको मूलधार मानिने ‘चौथो महाधिवेशन’को सदस्य बन्नुभयो नैनकला ।

एसएलसी सकिएसँगै उहाँ अध्ययन गरेकै विद्यालय कालिका माविमा शिक्षिका हुनुभयो । शिक्षिकासँगै शिक्षा संकायको पढाईलाई पनि निरन्तर दिनुभयो । २०३८ नेकपा (चौथो महाधिवेशन) बाट पार्टी सदस्यता लिनुभयो ।

सोही साल उहाँ रुपन्देहीको अखिल नेपाल महिला संघकी जिल्ला सचिव हुनुभयो । आन्दोलनकै क्रममा २०४० सालमा उहाँले रामबहादुर थापा ‘बादल’सँग बिवाह गर्नुभयो । रुसको अध्ययन छोडेर आन्दोलनमा होमिएका बादलसँगको भेट गराउने मेसो सूर्या थापाले गरिदिनु भएको थियो ।

सूर्या नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी माइजु हुन । अहिले सूर्या र उहाँका पति गोविन्दसिंह थापालाई सिंहले कार्वाही गरिसक्नुभएको छ । ‘नैनकला र म असाध्यै मिल्थ्यौं । मेरै करबलले रामबहादुरसँग विवाह भएको हो २०४० सालतिर’, सूर्याले भन्नुभयो ।

विवाहपछि नैनकलाले पढाई, राजनीति, पारिवारिक जिम्मेवारी एकैसाथ बहन गर्दै आउनुभयो । ‘मास्टर, पढाई, राजनीति दिदीले सँगसँगै अघि बढाउनुभयो’, भाइ ठाकुर थापाले भन्नुभयो । शिक्षणसँगै नैनकलाले शिक्षा र मानविकीमा स्नातक गर्नुभयो । विवाहसँगै उहाँको भूगोल फेरियो । बादलसँग विवाह गरेपछि उहाँ नारायणी मावि, चितवनमा सरुवा हुनुभयो । त्यहाँ उहाँ उत्कृष्ठ शिक्षिका समेत घोषित हुनुभएको थियो ।

नेकपा (मसाल)को विभाजन हुनै लाग्दा २०४२ मा उहाँ अखिल नेपाल महिला संघको केन्द्रीय महासचिव बन्नुभयो । पछि मसाल मोटो र पातलो भनेर विभाजन भयो । २०४७ मा नैनकला अखिल नेपाल महिला संघ केन्द्रीय संयोजक बन्नुभयो । तात्कालिन एकताकेन्द्र गठनपछि उहाँ २०५० मा एकीकृत अखिल नेपाल महिला संघ केन्द्रीय महासचिव बन्नुभयो । शान्ति प्रक्रियापछि नैनकला राष्ट्रिय महिला आयोगको अध्यक्षको (२०६४–२०६८) जिम्मेवारी सम्हाल्नुभयो । त्यससँगै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिलासम्बन्धी विज्ञ समूहको सदस्यका रुपमा पनि उहाँले काम गर्नुभयो ।

मृदभाषी, मिलनसार
माओवादीले जनयुद्धकालमा स–परिवार भूमिगत हुने कि नहुने भन्ने विषय पार्टीमा निक्कै बहस चल्यो । नैनकला सधैँ त्यही केन्द्रबिन्दूमा पर्नुहुन्थ्यो । बादलसँग भूमिगत किन नहुने ? मृदभाषी, मिलनसार शिक्षाप्रेमी नैनकलाको स्वभाव । पार्टीभित्र आफ्नो पतिको उतारचढावको प्रत्यक्ष साक्षी हुनुहुन्छ ।

माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सबै भन्दा बढी मनोविज्ञान बुझ्न सक्छिन । बादलका कतिपय उतार चढावमा प्रचण्डले नैनकलासँग निरन्तर सम्वाद गर्ने गर्नुहुन्थ्यो । मोहन वैद्यसँग बादल प्रचण्डलाई छोडेपछि पुनः एकतामा आउने भूमिकामा नैनकला नै हुनुहुन्थ्यो ।
‘लो प्रोफाइल’मा बस्न रुचाउने नैनकला र प्रचण्ड पत्नी सीता दाहालको निरन्तर सम्पर्कबाट एकताको वातावरण सिर्जना भएको प्रचण्डका पारिवारिक स्रोतहरुले बताएका थिए । खासै बोल्न नचाहने बादल श्रीमती नैनकलामार्फत के गर्न सकिन्छ ? भनेर प्रचण्ड र सीताले निरन्तर प्रयास गर्नुभएको थियो । त्यसैको परिणाम वैद्य आफ्नै पार्टीमा रहे, बादलसहितको टिम प्रचण्डसँग एकतामा आयो ।

‘समृद्धिका लागि सञ्चार’लाई अघि बढाइने

भर्खरै विदा हुनुभएका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा उल्लेख्य काम गर्नुभएको छ । गुरुङकै उत्तराधिकारीको रुपमा आउनु भएकी नैनकलाको बाहिरी चर्चा छैन । यद्यपि सञ्चार जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्ने सामथ्र्य उहाँमा छ ।

‘प्रधानमन्त्रीज्यूको दृढ संकल्पका साथ अघि बढाउनु भएको ‘सम्बृद्ध नेपालः सुखी नेपाली’को नारालाई सार्थक बनाउन सञ्चारको महत्वपूर्ण योगदान हुन्छ । यसअघिका सञ्चारमन्त्रीले अघि सारेका परियोजनालाई निरन्तरता दिनेछु,’ मन्त्री नियुक्तिपछि थापाले भन्नुभयो ।

सरकारले समृद्ध नेपालको अन्तर्राष्ट्रिय पहुँचका लागि ‘एनटिभि वल्र्ड’, आम नागरिकको सरल र सहज पहुँचका लागि डिजिटल नेपाल फ्रेमवर्क, पारदर्शीताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार, शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार कार्यक्रम अघि सारेको छ ।

पछिल्लो आर्थिक वर्षका कार्यक्रमहरुमा सरकारी निकायबाट प्रदान गरिने सेवा नागरिक एप्सबाटै, कोभिड–१९ बाट प्रभावित पत्रकारलाई लेखनवृत्ति, श्रमजीवी पत्रकारको लागि ७ लाख रुपैयाँ दुर्घटना बीमा, निःशुल्क उपचार रहेका छन् ।

उक्त कार्यक्रमहरुलाई निरन्तरता दिइने मन्त्री थापाले बताउनु भयो । नेपाली प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न ‘प्रेस संग्रहालय’, दुई वर्षभित्र अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण, सरकारबाट प्रदानगरिने विज्ञापनमा सबै प्रकारका सञ्चार माध्यमको पहुँच, सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गरिने लगायत महत्वपूर्ण योजनाहरुमा सरकारले बजेट विनियोजन गरिसकेको छ ।

janatatimes.com

प्रतिकृया दिनुहोस्